अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विरुद्ध अहिले पनि आक्रमणको अभियान चलाइरहेका छन्: शंकर पोखरेल 

एमाले विरुद्ध अहिले पनि आक्रमणको अभियान चलाइरहेका छन्: शंकर पोखरेल 


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबको समय मुलुकको विकास र समृद्धिको समय भएको बताउनुभएको छ।

नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशनको बन्द सत्रलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले सुशासन र सेवा प्रवाह विकास र समृद्धिका महत्त्वपूर्ण विषय भएका बताउनुभयो। ‘विकास र रूपान्तरणका कामको तीव्रता राज्यको कर्तव्यका रूपमा रहेन गर्दछ, निजामती कर्मचारी क्षेत्रले त्यो काममा राज्यलाई सफल बनाउने कि असफल बनाउने भन्ने भूमिका हुन्छ’, महासचिव पोखरेलले भन्नुभयो।

अहिले सुशासन, विकास आयोजनाको तीव्रता लगायतका विषयमा प्रश्न उठिरहेको बताउनुभयो। ‘समग्रतामा भन्दा राज्य प्रभावकारी भएन भन्ने प्रश्न उठेको छ’, महासचिव पोखरेलले भन्नुभयो।

सरकारले यसलाई सम्बोधन गर्न कानुनी सुधारको काम सुरु गरेको बताउनुभयो। यसका लागि संरचनागत सुधार पनि त्यतिकै आवश्यक रहेको पोखरेलले प्रष्ट पार्नुभयो। यस कुरालई निजामती कर्मचारीले राम्रोसँग बुझेकाले समस्याको समाधान पनि उनीहरूले दिन सक्ने पोखरेलको धारणा छ।

राजनीतिक स्थायित्वको अभावमा राजनीतिक अस्थिरताको कारण जनतामा निराशा बढ्दै गएको उहाँले बताउनुभयो। यसले गर्दा काम गर्ने वातावरण नबनेको गुनासो पनि त्यतिकै आएको पोखरेलले सुनाउनुभयो।

मुलुकको आर्थिक अवस्था कमजोर हुँदा पेसाकर्मीले पाउने सुविधा पनि अति न्यून भएको पोखरेलले बताउनुभयो। यी सबै समस्याको समाधान मुलुकलाई समृद्धि तर्फ लैजाँदा मात्र हुन सक्ने पोखरेलको धारणा छ।

विकासका रोकिएका कामलाई तीव्रता दिने र राजनीति स्थायित्व दिने उद्देश्यका साथ देशका प्रमुख दुई दल अहिले एक ठाउँमा उभिएका पोखरेलले बताउनुभयो । त्यही अनुसारका काम सरकारले अघि बढाएको उहाँले बताउनुभयो। तर जसरी अघि बढ्नु पर्ने हो त्यस अनुसार अघि बढ्न नसकिएको उहाँले प्रष्ट पार्नुभयो। ‘अहिले पनि अस्थिरतामा रमाउन चाहनेहरू देशलाई अस्थिरतामा लैजानका लागि प्रधानमन्त्री केपी ओली माथि आक्रमण गरिरहेका छन्, नेकपा एमाले विरुद्ध अहिले पनि आक्रमणको अभियान चलिरहेको छ’, उहाँले भन्नुभयो।

महासचिव पोखरेलले मुलुकलाई सही दिशामा अघि बढाउनु सबैको कर्तव्य भएको उहाँले बताउनुभयो । एमालेले बलियो राष्ट्रिय शक्ति बन्नको लागि वडा केन्द्रित अभियान सुरु गरेको पनि उहाँले जानकारी दिनुभयो।

राजनीतिक दलहरू एक्ला एक्लै चुनाव लड्दा सबैभन्दा ठुलो दलले सरकार बनाउन सक्ने र दोस्रो ठुलो दल प्रतिपक्षमा बस्ने स्थिति बन्ने उहाँले बताउनुभयो। त्यही तयारीका साथ २०८४ को निर्वाचनमा कांग्रेस र एमालेले कसैसँग पनि नमिली चुनाव लड्ने तयारी गरेका पोखरेलको भनाइ छ । ‘आउने निर्वाचनमा हामी एक्ला एक्लै स्वच्छ प्रतिस्पर्धा गर्छौँ’, महासचिव पोखरेलले भन्नुभयो।

देश बनाउन सक्ने राजनीतिक शक्तिलाई एकल बहुमत सहित सरकारमा पुर्‍याउनु अबको आवश्यकता रहेको उहाँले बताउनुभयो । यसले राष्ट्रको भविष्यलाई उज्यालो बनाउने उहाँको धारणा छ ।