अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरेलको टिप्पणी: विपक्षी सरकारविरुद्ध झुटको खेतीमा लागेको छ

महासचिव पोखरेलको टिप्पणी: विपक्षी सरकारविरुद्ध झुटको खेतीमा लागेको छ


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र लगायत प्रतिपक्षीले सरकारको विरुद्ध झुटको खेतीमा लागेको बताउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारको सूचकमा नेपालको अवस्था १ अङ्क तल झरेर कमजोर भएको रिपोर्ट सार्वजनिक गरेपछि नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलका नेता कार्यकर्ताहरू वर्तमान सरकारका कारणले त्यसो भएको भनेर तिखो आलोचना गर्दै भ्रमको खेतीमा लागेका टिप्पणी गर्नुभएको छ। सो रिपोर्ट सन् २०२४ को भएको उल्लेख गर्दै महासचिव पोखरेलले सो वर्षको आधिभन्दा बढी समय माओवादी नेतृत्वको सरकार रहेको महासचिव पोखरेलले स्पष्ट पार्नुभएको छ।

यसै वर्ष सुशासनका सन्दर्भमा प्रकाशित ६ वटा रिपोर्ट मध्ये तीनवटा रिपोर्टमा नेपालको अवस्था खस्किएको देखाइएको उहाँले स्मरण गराउनुभएको छ। विश्वबैंक लगायत तीनवटाको रिपोर्टमा भने नेपालको अवस्थामा सुधार भएको देखिएको उहाँले स्पष्ट पार्नुभएको छ। ‘त्यस अर्थमा नेपालका सन्दर्भमा कुन रिपोर्ट भरपर्दो भन्ने कुरा आफ्नै ठाउँमा छ, तर बिग्रिएको तथ्यलाई नै आधार बनाउने हो भने पनि ठुलो हिस्सा पूर्ववर्ति सरकार र त्यसको नेतृत्वलाई जान्छ, होइन र ?’, महासचिव पोखरेलले लेख्नुभएको छ।

महासचिव पोखरेलले विगतको सरकारले काम गर्न नसकेकै कारण केपी ओली नेतृत्व कांग्रेस–एमालेको सरकार बनेको उहाँले स्पष्ट पार्नुभएको छ। ‘विगतको सरकारको काम ठिक नभएको र मुलुक सङ्कटग्रस्त बन्न पुगेको निष्कर्षका आधारमा नै वर्तमान सरकार गठन भएको हो, दुई दलका बिचमा भएको ७ बुँदे सहमतिमा नै उक्त कुरा उल्लेख छ’, महासचिव पोखरेलले लेख्नुभएको छ ।

वर्तमान सरकार गठन भएपछि कानुनी, संरचनागत र कार्यशैलीमा सुधार गरेर सुशासन र सेवा प्रवाहमा जोड दिने काम भएको उहाँको दाबी छ । ‘लगानी प्रवर्धन र आर्थिक सुधारमा जोड दिइएको छ, यसको प्रभाव र परिणामका लागि अर्को वर्षको रिपोर्ट पर्खनु पर्ला, होइन र ?’, महासचिव पोखरेलले लेख्नुभएको छ ।