काठमाडौं – जापान सरकारको सहयोगमा संचालित छात्रवृत्ति कार्यक्रम जेडिएस आल्मुनाई एसोसिएसन नेपाल (जेडिसान) को संयुक्त आयोजनामा दुसिट प्रिन्सेस होटेल, लाजिम्पाटमा सामाजिक कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रम नेपाल सरकारका मुख्य सचिव श्री एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो कार्यक्रम नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, नेपालका लागि जापानका महामहिम राजदुत माएदा तोरु, सहसचिव लगायतका अधिकारीहरु, नेपालका लागि जाइकाका मुख्य प्रतिनिधी श्री मिजुकी माचुजाकी, जापानको हिरोशिमा विश्वविद्यालय, रिचुमेइकान विश्वविद्यालय र केइओ लगायतका विश्वविद्यालयका प्राध्यापकहरु तथा उक्त विश्वविद्यालयहरुमा छात्रवृत्तिमा २ वर्षे स्नातकोत्तर तह अध्ययन गरि फर्केका नेपाल सरकारका विभिन्न निकायहरुमा कार्यरत करिब १०० जना निजामती कर्मचारीहरु, जापानमा अध्ययन गरेर नेपालमा रहनु भएका पूर्व विध्यार्थीहरुका संगठनहरुका प्रतिनिधीहरु (जान तथा जुआन), नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

सो छात्रवृत्ति कार्यक्रम नेपालमा सन् २०१६ बाट सुरु भएको थियो। पहिलो चरणमा ४ वर्षमा प्रत्येक वर्ष २० जनाका दरले स्नातकोत्तर तहमा मात्र छात्रवृत्ति उपलब्ध रहेकोमा दोश्रो चरणबाट प्रत्येक वर्ष २० जना स्नातकोत्तर सँगसँगै २ जनाका दरले विद्यावारिधिको समेत छात्रवृत्ति उपलब्ध छ। हालसम्म १४२ जना नेपाल सरकारका निजामती कर्मचारीहरुले स्नातकोत्तर तह अध्ययन पूरा गरी नेपालमा फर्कि सक्नु भएको छ भने हाल जापानमा ४० जना स्नातकोत्तर र ५ जना विद्यावारिधी गर्दै हुनुहुन्छ।
सो कार्यक्रममा नेपाल सरकार, परराष्ट्र मंत्रालय दक्षिणपूर्वी एशिया महाशाखाका प्रमुख तथा उक्त छात्रवृत्ति कार्यक्रम सञ्चालन समितिका सदस्य, सह सचिव श्री भृगु ढुंगानाले स्वागत मन्तव्य राख्नु भएको थियो। त्यसैगरी, , नेपालका लागि जापानका महामहिम राजदुत माएदा तोरुले उद्घाटन मन्तव्य राख्दै जापान नेपाल सम्बन्ध जनस्तरसम्म पुर्याई थप प्रगाढ बनाउन जेडिएस छात्रवृत्ति लगायतका कार्यक्रमहरुको महत्वपूर्ण योगदान रहेको र अगामी दिनमा नेपाल सरकारको नीति निर्माण र कार्यान्वयनमा गुणात्मक प्रभाव थपिने विश्वास व्यक्त गर्नु भयो।

जेडिएस आल्मुनाई एसोसिएसन नेपाल (जेडिसान )को तर्फबाट जेडिसानका अध्यक्ष तथा नेपाल सरकारका गृह सचिव श्री गोकर्णमणि दुवाडीले जापान सरकार र जापनिज दुतावास, जाइका नेपाल तथा जेडिएस नेपालको सहयोग र सहकार्यको लागि हार्दिक अभार व्यक्त गर्दै जापानमा अध्ययन तथा अनुसन्धान गरी फर्किएका नेपाल सरकारको विभिन्न निकाय र तहमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादनमा सुधार र अनुसन्धानका निष्कर्षहरु कार्यान्वयनमा ल्याउन एकाकार प्रयास गर्ने थलोको रुपमा जेडिसान स्थापना भई क्रियाशील रहेको बताउनु भयो।

सो कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव श्री एक नारायण अर्यालले प्रमुख अतिथिको रुपमा आफ्नो मन्तब्य राख्दै यस छात्रवृत्ति कार्यक्रमले नेपाल सरकारका निजामती कर्मचारीहरुको क्षमता अभिवृद्दिका साथै वृत्ति विकासमा उल्लेखनीय योगदान दिनुका साथै नेपाल र जापान बीचको शताव्दीयौं लामो सम्बन्धलाई अझ प्रगाढ गर्न महत्वपूर्ण योगदान दिएको विचार व्यक्त गर्नु भएको थियो।







प्रतिक्रिया