विराटनगर-समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ।
मुख्यमन्त्री कार्कीले नेपाली जनताले ठूलो संघर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण गर्दै यसको रक्षा सबैको जिम्मेवारी रहेको उल्लेख गर्नुभएको छ।
‘प्रजातन्त्रका लागि भएको संघर्षमा सहिदहरूले अमूल्य जीवन उत्सर्ग गरेका छन्। सहिदहरुको बलिदानको सम्मान गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाउन हामी सबै प्रतिबद्ध हुनुपर्छ’, मुख्यमन्त्री कार्कीले भन्नुभएको छ।
प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै न्याय, समानता, सुशासन र समृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
‘प्रजातन्त्रको मूलमर्म भनेको जनताको अधिकारको सम्मान हो। यसलाई जीवन पद्धति बनाएर अघि बढ्न सक्यौं भने मात्रै दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्छौं’, – मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा उल्लेख छ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतामा दृढ रहन सबैलाई आह्वान गर्नुभयो।
प्रतिक्रिया