सुर्खेत– विहीबार बिहान सुर्खेत विमानस्थल बाहिरको माहौल हेर्दा लाग्थ्यो, त्यो भीड कुनै नेताको स्वागतमा निस्केको नभई बिहेको जन्तीझैं थियो । पञ्चेबाजासहित कांग्रेसका नेतारकार्यकर्ताहरु एयरपोर्टको बाहिरी गेटमै उपस्थित थिए । हात–हातमा मखमली फुल, दुबोको माला र खादा । पार्टीको केन्द्रीय पूर्व आप्रवासी विभागले आयोजनाको गरेको कार्यक्रममा भाग लिन आइपुगेका कांग्रेस नेता डा शेखर कोइरालालाई नेतारकार्यकर्ताले भव्य स्वागत गरे । जबकी यस्तो भव्य स्वागत यसअघि सभापति शेरबहादुर देउवा आउँदा होस् वा गृह जिल्लाका नेता पूर्णबहादुर खड्का उपसभापति र उपप्रधानमन्त्री ९कार्यवाहक प्रधानमन्त्री० बनेर आउँदा समेत गरिएको थिएन ।
यो स्वागतको अन्तर्य केलाउन कांग्रेसको आन्तरिक राजनीतिबारे चर्चा गर्नु उपर्युक्त हुन्छ । सुर्खेत कांग्रेसमा पूर्णबहादुर खड्का र हृदयराम थानीको फरक–फरक टिम छ । खड्काले संस्थापन टिमको नेतृत्व गर्छन् भने थानीले संस्थापनइतरको । १४ औं महाधिवेशनमा जिल्लामा थानी टिम कमजोर बन्यो । सबै तहको नेतृत्वमा यो टिमका नेतारकार्यकर्ता पाखा लगाइए । सुर्खेतमा खड्का र थानी पक्षका कार्यकर्ताबीच निषेधको राजनीति छ । पूर्णबहादुर खड्कालाई देखाउन संस्थापनइतर टिमले शेखर कोइरालाको स्वागतमा ‘भड्किलो व्यवहार’ देखाएको संस्थापन पक्षका नेताहरुको टिप्पणी छ । उसो त कांग्रेसमा शेखर कोइरालाले महाधिवेशनमा सभापतिको निकट प्रतिष्पर्धी भएकाले आफ्नो दोस्रो वरियता हुनुपर्ने माग राख्दै आएका छन् । यद्यपि सभापति देउवाले उनको मागलाई गम्भीरतापूर्वक लिएका छैनन् । वरियता विवादकै कारण उपसभापति खड्का सहभागी हुने सार्वजनिक कार्यक्रम कोइराला जाँदैनन् ।

कोइराला १५ औं महाधिवेशनमा सभापतिको तयारीमा जुटिसकेका छन् । संस्थापन पक्षबाट सभापतिका आकांक्षी धेरै छन् । पार्टी उपसभापति, संस्थापन टिम र दोस्रो वरियताको नेता भएकाले खड्कालाई देउवाको उत्तराधिकारी देख्नेहरु पनि छन् । त्यसले गर्दा ‘खड्कालाई झस्काउन’ संस्थापनइतरकाले कोइरालालाई भव्य स्वागत गरेको चर्चा छ ।
विमानस्थलमा कोइरालाको स्वागतमा संस्थापन पक्षका नेताहरु पनि थिए । कर्णाली प्रदेश संसदीय दलका नेता समेत रहेका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाही, पार्टीका प्रदेश सभापति ललितजंग शाही विमानस्थल पुगेका थिए । कोइरालाको स्वागतलाई भव्य बनाउन सांसद हृदयराम थानी, केन्द्रीय सदस्य जानकी सिंह, युवा नेता भुपेन्द्रजंग शाही लगायतका नेताहरु खटिएका थिए । विमानस्थलमा नेताहरुको अनुहार र हाउभाउ हेर्दा कोइरालाको आगमनमा थानी टिमका नेताहरु बढी उत्साही देखिन्थे ।
भिआईपी कक्षमा नेताहरुको स्वागतपछि प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले सहभागिता जनाए । पत्रकारसंग कोइरालाले अहिलेको कांग्रेस–एमालेको सरकारले सुशासन, आर्थिक वृद्धि र दैनिक सेवा प्रवाहका क्षेत्रमा कुनै आशा जगाउन नसकेको भन्दै मन्त्रीहरु बाहेक सबैले खबरदारी गर्नुपर्ने धारणा राखे । स्वभाविक रुपले १५ औं महाधिवेशनमा आफू पार्टी सभापति पदमा उठ्ने दोहो¥याए । ‘निर्धारित मितिमै महाधिवेशन हुनुपर्छ, ८४ को आम चुनावपछि महाधिवेशन गर्ने कुराले पार्टी कमजोर हुन्छ,’ उनले भने, ‘पार्टीलाई एकढिक्का देखाउने हो भने सममै महाधिवेशन गरौं, पार्टी विधान र संविधानभन्दा बाहिर जाने प्रयास नगरौं ।’
गत शुक्रबार सभापति देउवा निकटका नेताहरुले १५ औं महाधिवेशनको रणनीतिबारे छलफल गरेको विषयमा कोइरालाले भने, ‘यहाँ ११ भाईको सक्रियताको कुरा उठ्यो, यसले केही फरक पार्दैन्, उहाँहरुले त गत महाधिवेशनमै शेरबहादुरजीलाई समर्थन गरिसक्नुभएको हो ।’ कोइरालाले शुक्रबार पूर्व आप्रवासी विभागद्वारा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।






प्रतिक्रिया