काठमाडौं-नेकपा एकीकृत समाजवादीले पार्टीका नेता तथा कार्यकर्ताको आचरण र व्यवहार बारे १३ बुँदे आचारसंहित जारी गरेको छ।
पार्टीको शुक्रबारबाट ललितपुरमा सुरु भएको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा अध्यक्ष माधव कुमार नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन्।
आचारसंहितामा मार्गनिर्देशक सिद्धान्त, मूल्य मान्यता, आचरण, नैतिकता, व्यवहार, जिम्मेवारी, जवाफदेहिता, अध्ययनशीलता, अनुशासनको पालना लगायतका विषय समावेश गरिएका छन् ।
आचारसंहितामा भनिएको छ, ‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयविरुद्ध आफ्नो पार्टी कमिटी भन्दा बाहिर गएर बोल्न र मत राख्न पाइँदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ । अरूका विचारको सम्मान गर्नु पर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ ।’
आचारसंहिताको आचरणमा ‘पार्टीका नेता–कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने र उनीहरूको खानपान, रहनसहन, उठबस आदि सरल र सामान्य हुनुपर्ने भनिएको छ । यस्तै नैतिकतामा निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्ने भनेको छ ।
यस्तै परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानेको छ । ‘कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन,’ आचारसंहितामा भनिएको छ, ‘महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ ।’
हेर्नुहोस् १३ बुँदे आचारसंहिता






प्रतिक्रिया