अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्नः टिकटक किन बन्द गरेको त ?

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्नः टिकटक किन बन्द गरेको त ?


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरू नै त्यसको विरोधमा उत्रिएको टिप्पणी गर्नुभएको छ।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द गर्नेहरू नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको बताउनु भयो।

प्रधानमन्त्री ओलीले हाल प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग बसेर नै आफूहरुले सामाजिक सञ्जाल विधेयक तयार पारेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले उक्त विधेयकको मस्यौदा माओवादीसँगै बसेर तयार पारिएको बताउनुभयो।

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई त्यतिबेला टिकटक किन बन्द गरेको ? भन्दै प्रश्न समेत गर्नुभयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो,  ‘केही मान्छेले हिजो मसँगै बसेर कानूनको मस्यौदा गरेका हुन्। अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने र विरोध गर्ने संसदमा भएका पार्टीहरू खासगरी माओवादीलगायतका पार्टीहरूले हिजो हामीसँगै बसेर कानूनको मस्यौदा बनाएका हुन्। अनि टिकटकमा प्रतिबन्ध नै लगाएका हुन्। अहिले बहुत हिमायती निस्किएका छन् फेरि। बोल्न त पाउनुपर्छ भनेर उफ्रिएका छन्। टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यतिबेला? जे पनि होइन ठिक कुरा बोल्नुपर्छ।’

प्रधानमन्त्री ओलीले बोल्ने सबैलाई छुट भए पनि जे पनि बोल्न नपाइने बताउनुभयो । ‘जे पनि होइन, ठिक कुरा बोल्नुपर्छ। ठिक कुरा गर्ने अभ्यास बोल्नुपर्छ । देशको विरुद्ध बोल्ने, शान्ति सुरक्षा, अमनचयन खल्बल्याउन खोज्ने ?’प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जथाभावी बोल्ने प्रवृत्ति बढेका छन् । कुनै वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामा कुनै प्रकारको बन्देज लगाइने छैन।’

प्रधानमन्त्री ओलीले आफूले स्विजरल्याण्डको बैंकमा पैसा राखेको भनेर अफवाह फैलाएको भन्दै आफूलाई त्यत्रो पैसा नचाहिने बताउनुभयो । ‘एउटा रोटी र तरकारी खान्छु, मेरो किचेन र बेडरुम खुला हुन्छ, मानिसहरू गइरहेका हुन्छन्, लुकाएको केही छैन’, प्रधानमन्त्रीले भन्नुभयो, ‘जेसुकै बोल्ने, अपमान र अफवाह फैलाउने हाम्रो सभ्यता त्यो होइन। त्यो सभ्यता भत्काउनु हुँदैन।’