काठमाडौं-ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी २४ जना बढी घाइते भएका छन्। घाइतेमध्येका चार जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले रेफर गरेको छ।
प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना घाइते छन्। उनीहरू मध्येका एक जनालाई जिल्ला बाहिर पठाइएको छ भने अरुको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। आन्दोलनत समूह तर्फपनि त्यति नै सङ्ख्यामा रहेको प्रारम्भिक जानकारी रहेको रावलले बताउनुभयो ।
प्रहरीले हुलहुज्जत गरेको अभियोगमा १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा आन्दोलनको अगुवाई गरिरहेका नविन पोमु लगायत रहेका छन्। तर प्रहरीले नाम भने खुलाएको छैन।
यता ताप्लेजुङको फुङलिङ बजार क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुनसक्ने प्रदर्शन, हुलदंगा, झडप र प्रतिकूल स्थितिलाई ध्यान दिँदै आज (फागुन ११ गते) बिहान ५ बजे देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बजार क्षेत्रका लागि निषेधाज्ञा जारी गरेका हुन् । जसअनुसार निषेधित क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको गरिएको छ।
आदेश उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । प्रशासनले फुङलिङ नगरपालिका बजार क्षेत्र, पूर्व– फुङलिङ नगरपालिका वार्ड नं ७, सल्लेरी, पश्चिम– फुङलिङ नगरपालिका वार्ड नं ७, घोडेचौर (थलाङ धारा क्षेत्र सम्म) र उत्तरमा फुङलिङ नगरपालिका वार्ड नं ४, उकालीपानीलाई निषेधाज्ञा लगाइएको छ ।






प्रतिक्रिया