अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानूनअनुसार नै केबलकार बनाउने अनुमति दिएको कुरा नबिर्सौं: योगेश भट्टराई

कानूनअनुसार नै केबलकार बनाउने अनुमति दिएको कुरा नबिर्सौं: योगेश भट्टराई


 काठमाडौं-नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकार विवादबारे संसद्‌बाट ध्यानाकर्षण गराउनु भएको छ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले कानूनअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको कुरा बिर्सन नहुने बताउनुभएको हो।

सांसद भट्टराईले भन्नुभयो, ‘ताप्लेजुङमा केबुलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ। केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ। नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन। त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो।’

सांसद भट्टराईले विरोध गर्ने अधिकार सबैलाई भए पनि विरोध गर्ने सीमा हुने बताउनु भयो ।‘विरोध गर्ने अधिकार सबैलाई हुन्छ। तर विरोधका सीमा हुन्छ। सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ भन्ने मान्यता हो।’

ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी २४ जना घाइते भएका थिए । प्रहरीले हुलहुज्जत गरेको अभियोगमा १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा आन्दोलनको अगुवाई गरिरहेका नविन पोमु लगायत रहेका छन्।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बजार क्षेत्रका लागि निषेधाज्ञा जारी गरेका हुन् । जसअनुसार निषेधित क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको गरिएको छ।