अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजालाई बामदेव गौतमको चुनौतीः २०८४ को चुनाव लडेर प्रधानमन्त्री बन्नुस्

पूर्वराजालाई बामदेव गौतमको चुनौतीः २०८४ को चुनाव लडेर प्रधानमन्त्री बन्नुस्


काठमाडौं-राष्ट्रिय सभा सदस्य बामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिनुभएको छ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उहाँले पूर्वराजा शाहलाई चुनौती दिनुभएको हो। राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित नहुने गौतमले उल्लेख गर्नुभयो। उहाँले पुनः राजा बन्ने चाहना त्यागेर पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराई २०८४ मा हुने चुनावमा भाग लिन सुझाव दिनुभयो।

‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित हुँदैन,’ उहाँले भन्नुभयो, ‘तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस्।’  

निर्वाचित भई संसद्‌बाट प्रधानमन्त्री बनेर देशको चौतर्फी विकास र समृद्धि कायम गर्न उहाँले आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘निर्वाचित भई संसद्‌बाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस्।’

आजै प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले पनि पूर्वराजा शाहलाई निर्वाचनमा सहभागी हुन चुनौती दिनुभएको थियो।