अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीलाई गोकुल बाँस्कोटाको प्रश्न: गणतन्त्रको विकल्प खोजेको हो ?

माओवादीलाई गोकुल बाँस्कोटाको प्रश्न: गणतन्त्रको विकल्प खोजेको हो ?


काठमाडौं-नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनु भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद बास्कोटाले नेकपा माओवादीले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो? भन्दै प्रश्न गर्नुभएको हो।

‘के प्रमुख प्रतिपक्ष (नेकपा माओवादी)ले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ? बामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो ?,’ सांसद बास्कोटाले प्रश्न गर्नुभयो, ‘सहमति त्यसमा हो या गर्नुहोला त्यो चुल्होमा कहिल्यै राजतन्त्र फर्काउने, गाण्तन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन तीन पाक्दैन। भ्रममा नरहनुहोला।’

उहाँले माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताउनुभयो।

यसै सन्दर्भमा सांसद बाँस्कोटाले राजतन्त्र फर्काउन सम्भव नभएको बताउनु भयो। उहाँले बैठकमा व्यंग्य गर्दै पोखरादेखि काठमाडौंसम्म आउने प्लेनको टिकट काटेर काठमाडौं फर्काउन बताउनुभयो।

‘यो २१ औं शताब्दी हो, केका लागि राजतन्त्र फर्काउने? के पाइन्छ ? राजा फर्काउन पोखरामा जुलुस गर्न पर्छ?,’ उहाँले व्यंग्य गर्दै भन्नुभयो , ‘धेरै गर्न पर्दैन, एउटा प्लेन टिकट काट्दिनुस् पूर्वराजा जुलुस नगरिकन काठमाडौं फर्किहाल्छन् नि। केलाई दु:ख गर्ने? फर्किने भनेको काठमाडौं त होला नि। सिंहासनमा त सम्भव छैन। सम्भवै छैन।’