अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा आउन चाहनेलाई स्वागत छ, वाम एकता भने सम्भव छैन: ईश्वर पोखरेल 

एमालेमा आउन चाहनेलाई स्वागत छ, वाम एकता भने सम्भव छैन: ईश्वर पोखरेल 


चितवन-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेस र एमालले देशमा ठुला-ठुला परिवर्तन गरेका बताउनुभएको छ।

प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार चितवनमा सम्बोधन गर्दै नेता पोखरेलले २०४६ सालको आन्दोलन वा गणतन्त्र घोषणा गराउने कुरा कांग्रेस र एमालेको सहकार्यले सम्भव भएको बताउनुभयो। ‘नेपालको विशिष्टतामा परिवर्तन र सहकार्यलाई बुझ्नु पर्दछ’, नेता पोखरेलले भन्नुभयो।

नेपालको राजनीतिमा दुईवटा पोल भएका बताउँदै नेता पोखरेलेले एउटा पोलको नेतृत्व एमाले र अर्को पोलको नेतृत्व कांग्रेसले गर्ने बताउनुभयो। त्यसैले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएका उहाँले स्पष्ट पार्नुभयो। ‘हामी स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्छौँ, कोहीसँग मिलेर होइन एक्ला एक्लै प्रतिस्पर्धा गर्छौँ’, उहाँले भन्नुभयो ।

नेपालमा वामपन्थी नामका दक्षिणपन्थीहरू रहेकाले त्यस्ता शक्तिसँग एमालले पार्टी एकता गर्न नसक्ने नेता पोखरेलले स्पष्ट पार्नुभयो। एमाले पार्टीमा आउनेलाई स्वगत गर्ने भए पनि एमाले कोहीसँग मिल्न नजाने नेता पोखरेलले बताउनुभयो। ‘एमालेमा आउन चाहनेलाई स्वागत गर्दछौँ, वामपन्थी एकता भने सम्भव छैन‘, नेता पोखरेलले भन्नुभयो।

आफूलाई कम्युनिष्ट भन्नेहरू नै एमालेलाई कमजोर बनाउन लागेका उहाँले बताउनुभयो । एमालेलाई कमजोर बनाउनु भनेको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र समृद्धिको यात्रालाई कमजोर बनाउनु भएको उहाँले स्पष्ट पार्नुभयो । त्यसैले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा एमालेले बहुमत नल्याउने हो भने देश उँभो नलाग्ने पोखरेलले दाबी गर्नुभयो । यसलाई बुझेर एमालेलाई बलियो बनाउनु पर्ने र पार्टीलाई सुदृढ बनाउन जरा केन्द्रित अभियान सुरु गरिएको पोखरेलले स्पष्ट पार्नुभयो । विगतको समीक्षा गर्दै आगामी योजना बनाएर एमालेका सबै जनसंगठन अघि बढ्नु पर्ने पोखरेलको धारणा छ ।
एमाले माथि लगाइएका कुनै पनि आरोपमा सत्यता नरहेको पनि उहाँले दाबी गर्नुभयो । विगत र भविष्य नभएकाहरू एमालेका विरुद्ध लागेका उहाँले बताउनुभयो ।
भ्रष्ट मनोवृत्ति भएका र जहाँसुकै गुनासो गर्ने मानिहरू एमाले हुन नसक्ने पोखरेलले बताउनुभयो । एमालेमा कुनै गुट र उपगुट पनि नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘नो करप्टेड र नो फ्रस्टेटेड मानिस मात्र एमाले हुन्छन्’, उहाँले भन्नुभयो ।