अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापनाका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो रहेको बताउनु भएको छ। दक्ष प्राविधिकहरु उत्पादन गर्न सके स्वदेशमानै स्वरोजगारीको सिर्जना गरी आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उहाँको भनाई छ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद–सिटीईभीटीको ३७औं वार्षिक उत्सवलाई सोमबार भक्तपुरमा संवोधन गर्दै उहाँले शिपयुक्त शिक्षा र प्रविधिको हस्तान्तरण मार्फत दक्ष प्राविधिकहरु उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो। उच्च शिक्षा हाँसिल गरेका युवाहरु समेत रोजगारीका लागि विदेश गई रहनु भएको उल्लेख गर्दै उहाँले सैद्धान्तिक शिक्षासँगै व्यवसायीक र प्राविधिक शिक्षा प्रदान गर्न सके यो क्रममा न्युनिकरण आउने समेत उल्लेख गर्नुभयो।


सिटीईभीटीले देशका विभिन्न ग्रामिण क्षेत्र सम्म पुगेर प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रदान गर्नु सह्रानिय रहेको उल्लेख गर्दै मन्त्री दाहालले तालिम र शिक्षा पाएको जनशक्तिलाई स्वदेशमानै आत्मनिर्भर र व्यवसायीक बनाउन तर्फ पनि ध्यान दिनु पर्ने बताउनुभयो । कार्यक्रममा उहाँले परिषदका विभिन्न शिक्षालयका विद्यार्थीहरुले प्रयोगात्मक शिप मार्फत निर्माण गरेका विभिन्न सामाग्री, उपकरणहरुका स्टलको अवलोकन समेत गर्नुभयो ।

कार्यक्रममा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा अवकास प्राप्त कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने मन्त्री दाहालले परिषद मार्फत प्रकाशित जर्नलको लोकार्पण पनि गर्नुभयो। परिषदका सदस्य सचिव महेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले परिषदका लागि समयानुकुल कानून निर्माण गर्न मन्त्री एवम् सरकारको ध्यानाकर्षण गराएका थिए।