काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरै नीतिहरु परिवर्तन गर्नुपर्ने बताउनुभएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्धमा गरेको अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले धेरै स्थानमा नीतिहरु नै नभएकाले उल्टो बाटो हिँडिरहेको बताउनु भएको हो।
मन्त्री गुरुङले भन्नुभयो, ‘परिवर्तन नै नभएको हाम्रा नीतिहरु छन्। गणतान्त्रिक नेपालमा गतिलो नीति नभएको मन्त्रालय हो जस्तो लाग्छ, अब यो कुरालाई मेटाउँदैछौं। यस वर्ष सबै नीति, विधेयक र कानूनहरु बनाउने कुरामा सबै सक्ने भनेर काम गरिरहेका छौं। यसै संशोधनका क्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधन पनि गर्नुपर्ने छ। धेरै ठाउँमा नीतिहरु नै छैन्, उल्टो बाटो हिँडिरहेका छौं।’
मन्त्री गुरुङले राज्यको काम गर्ने तरिका बदल्नुपर्ने बताउनु भयो। उहाँले अहिले पनि मुलुक टुक्र्याउने वा मुलुकलाई विखण्डन गर्ने दुष्प्रयासहरु भइरहेकाले यस्ता दुष्प्रयास गर्नेहरुलाई कारवाही गर्नुपर्ने बताउनु भयो।
मन्त्री गुरुङले, ‘राज्यको काम गर्ने तरिका बदल्नुपर्ने छ। पहिले नीति बनाउनुपर्यो, त्यसपछि ऐन बनाउनुपर्यो। बनाएका ऐनहरु परिवर्तन हुनुपर्छ। स्वतन्त्रता, स्वाधिनता या भौगोलिक अखण्डता कदापी हुनु भएन। अहिले पनि हाम्रो मुलुक टुक्र्याउने वा विखण्डन गर्ने दुष्प्रयासहरु भैइरहेका छन्। संविधान जारी भएपनि यस्ता दुष्प्रयासहरु समाप्त भएका छैनन्। धार्मिक सहिष्णुता भत्काउन पाइँदैन। यस्ता दुष्प्रयास गर्नेहरुलाई कारवाही गर्नुपर्छ।’
मन्त्री गुरुङले एआइ प्रयोगले संसार नै ध्वस्त हुने भन्दै यसलाई नियमन गर्नुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘एआइ प्रयोगले संसार नै ध्वस्त हुनसक्छ। त्यसैले यस्ता विषयहरु नियमन गर्नको लागि पनि सामाजिक सञ्जाल विधेयक पास हुन आवश्यक छ। सामाजिक सञ्जाल नियमन जरुरी छ यसमा सरकारले पछाडि फर्कनुपर्ने अवस्था छैन विरोध नगरौं।’
प्रतिक्रिया