अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाशिवरात्रिमा ट्राफिक व्यवस्थापन: ८९० ट्राफिक प्रहरी खटिने

महाशिवरात्रिमा ट्राफिक व्यवस्थापन: ८९० ट्राफिक प्रहरी खटिने


काठमाडौँ-महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवम् व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो।

दर्शनार्थी एवम् भक्तजनका सवारी साधनहरुको पार्किङ्ग तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी काेरिडोर सडकमा मिलाइएको छ भने वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरू पार्किङ्ग हुनेछन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरू छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ। धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ।

यस वर्ष पनि सदा झैं चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्वाधरूपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा मात्र डाईभर्सनको नीति अबलम्बन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाएको छ।

तिनकुनेबाट सिनामङ्गलतर्फ,बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरूलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

बाग्मती काेरिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ ।

शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउनको लागि प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा कमान्ड सेन्टर राखी ८९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ भने आवश्यकता अनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरी समेत खटाइँदै जाने ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक संजयबहादुर राउतले जानकारी दिनुभयो ।