काठमाडौं- नेपाली शब्दकोषका लेखक एवं ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद चूडामणि गौतमको निधन भएको छ। गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो।
फोक्सोमा पानी जमेर गौतम दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचारका क्रममा सोमबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ। अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरेका छन्।
विसं २००० असोज १ मा तेह्रथुमको खाम्लालुङ-१ पाकतिनमा जन्मिएका उहाँले लेखेको अंग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो। गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए।
गौतमले १४ सय पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली–इङ्गलिस डिक्सनरी, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी पुस्तक लेखेका छन् ।
गौतमले २१ वर्षको हुँदा आठराईको मोहन माविबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो। त्यसपछि आईएस्सी पढ्न विराटनगर झर्नुभयो। महेन्द्र मोरङ क्याम्पसबाट बाहिरिएका उहाँले प्राइभेट परीक्षा दिएरै मानविकी र कानूनमा स्नातक गर्नुभएको थियो। लाखौं विद्यार्थीका अंग्रेजी ग्रामर गुरु बन्न पुगेका गौतमले नेपाली विषयमा स्नातक गर्नुभयो।
कक्षा १ देखि १० सम्म प्रथम भएका उहाँसँग किताबहरू किनेर पढ्ने आर्थिक हैसियत थिएन। त्यही कारण उहाँ कलेजमा पनि नियमित विद्यार्थी हुन सकेनन्। विराटनगरमा पढ्दा पनि उहाँ झापामा पढाउँनुहुन्थ्यो।
२०२८ सालको नयाँ शिक्षा नीतिले ल्याएको परिवर्तनलाई उहाँले राम्रो अवसरको रूपमा सदुपयोग गर्नुभयो। नयाँ शिक्षा नीतिले ग्रामर व्यवहारबाट सिक्ने हो भनेर पाठ्यपुस्तक अन्तर्गत राखेन।






प्रतिक्रिया