काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल हरेक हिसाबले पर्यटनको लागि सम्भावनाको क्षेत्रको रूपमा रहेको बताउनुभएको छ।
नेपाल राष्ट्रिय होटेल व्यवसायी संघको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पर्यटन क्षेत्र विस्तारको लागि होटेल क्षेत्रको विकास हुनुपर्ने बताउनुभयो। नेपालमा जति पर्यटक ल्याउनु पर्ने हो त्यसको सानो हिस्सा पनि ल्याउन नसकिएको महासचिव पोखरेलको भनाइ छ। ‘हामी १०/१२ लाख पर्यटक ल्याउँदा खुसी मनाएर बसेका छौँ’, महासचिव पोखरेलले भन्नुभयो।
नेपालको समग्र अर्थतन्त्र नै औपचारिक भन्दा अनौपचारिक भएको महासचिव पोखरेलले बताउनुभयो। यसको प्रभाव देशको समग्र विकासमा परेको महासचिव पोखरेलको धारणा छ।

अहिले नेपालको अर्थतन्त्रको आधार उत्पादन र उद्यम भन्दा पनि वैदेशिक रोजगारी भएको महासचिव पोखरेलले बताउनुभयो। त्यो दिगो नभएर अस्थायी अर्थतन्त्र भएको महासचिव पोखरेलको धारणा छ।
मुलुकको अर्थतन्त्रमा देखिएको चुनौतीलाई चिरेर अहिलेको सरकार गम्भीरतापूर्वक अघि बढेको उहाँले बताउनुभयो। पहिलेको तुलमा अर्थतन्त्रमा केही सुधार भएका भए पनि अझै सन्तोषजनक अवस्था नभएको महासचिव पोखरेलको भनाइ छ।
अहिले पनि व्यावसायिक क्षेत्र जसरी उठ्नु पर्ने हो त्यस अनुरूप उठ्न नसकेको महासचिव पोखरेलले बताउनुभयो। यो मुलुकको लागि प्रमुख चुनौती भएको पोखरेलको धारणा छ।
कानुनका कारण सेवा प्रवाह, सुशासन र लगानीमा समस्या आयो भनेर नै सरकारले कानुन संशोधन गर्ने अध्यादेश ल्याएको महासचिव पोखरेलले बताउनुभयो। ‘कानुनले झमेला खडा गर्यो, व्यवसायीलाई अप्ठेरो पर्यो भन्ने सन्दर्भमा कानुको तीव्र संशोधनको अभियानमा छौँ’, महासचिव पोखरेलले भन्नुभयो।
आवश्यकताको कारण सरकारले जिम्मेवार भएर अध्यादेश ल्याएको बताउँदै महासचिव पोखरेलले अहिले अध्यादेशमा विरोधीहरूको आवाज चर्को भएको बताउनुभयो । ‘सरकारले अत्यन्त गम्भीर छ, जिम्मेवार छ’, महासचिव पोखरेलले भन्नुभयो ।

देशको सङ्कटका विषमा सत्तारुढ दल चिन्तित भएका बताउँदै उहाँले सङ्कट समाधानमा सरकार गम्भीर रहेको कुरा महासचिव पोखरेलले बताउनुभयो। कतिपयले हरेक महिना दिनमा सरकार ढल्ने हल्ला चलाउने गरेका भए पनि त्यो उनीहरूको सपना मात्र भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो। उहाँले सरकार ढल्छ भनेर कसैले दिवा सपना नदेख्न आग्रह गर्नुभयो। महासचिव पोखरेलले प्रतिपक्ष दलहरुले सरकार छिट्टै ढल्छ भनेर काम गर्न नदिने उद्देश्यले हल्ला चलाइएको दावी गर्नुभयो। ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि ढल्छ भन्ने अपवाह फैलाउने गरिएको छ। यो सरकारलाई काम गर्न नदिने उद्देश्यले चलाएको हल्ला हो। नेपाली कांग्रेस र नेकपा एमाले जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ। नेपालमा अस्थिरतामा रमाउन चाहनेको दिवासपना मात्रै हो, मिसन २०८४ सम्म दुई दल बीचको सहकार्य अविछिन्न रहन्छ, धेरै हण्डर खाएर दुई दल एक ठाउँमा आएका हुन्’, महासचिव पोखरेलले भन्नुभयो।
कुनै पनि देश बलियो हुन राज्य बलियो हुनु पर्ने महासचिव पोखरेलले बताउनुभयो। त्यसको लागि राजनीतिक दल बलिया हुनुपर्ने उहाँको धारणा छ। कमजोर राजनीतिक दलले शासन गरेर देश बलियो नबन्ने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो। ‘देश बनाउने हो भने अब बलिया राजनीतिक दल आवश्यक छ, अनेक तरिका पार्टीले देश बनाउन सक्दैनन्’, महासचिव पोखरेलले भन्नुभयो ।
आउने निर्वाचनबाट राजनीतिक ध्रुवीकरणको माध्यमबाट देशलाई स्थायी सरकार दिनु पर्ने उहाँले बताउनुभयो । अहिलेको सत्ता समीकरण राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि भएको पनि महासचिव पोखरेलले स्पष्ट पार्नुभयो। ‘देश बनाउने हो भने अस्थिरता अन्त्य हुनुपर्छ, स्थायित्व कायम हुनुपर्दछ, त्यसकै लागि अहिलेको सरकार बनेको हो’, महासचिव पोखरेलले भन्नुभयो ।






प्रतिक्रिया