धनुषा-नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ।
आज प्रेस सङ्गठन नेपालद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएकाले हाल यसको सम्भावना नरहेको स्पष्ट पार्नुभयो। तर उहाँले महत्त्वपूर्ण ‘एजेन्डा’का आधारमा कार्यगत एकता गर्न सकिने बताउनुभयो। 'तत्काल पार्टी एकीकरण सम्भव छैन तर, ‘इस्यु’का आधारमा कार्यगत एकता गर्न सकिन्छ। जस्तै, अहिले राष्ट्रियतामाथि खतरा छ। यस्तो अवस्थामा वामपन्थी मात्र होइन, सबैले एकताबद्ध भएर उभिनुपर्छ,' खनालले भन्नुभयो।
पूर्वप्रधानमन्त्री खनालले संविधानअनुसार ऐन निर्माणको प्रक्रिया सहजै अघि बढ्न सक्ने भए पनि सरकारले अनावश्यक रूपमा अध्यादेश ल्याएको उल्लेख गर्नुभयो। 'संविधानअनुसार सामान्य प्रक्रियाबाट ऐन बनाउन कसैले अवरोध गरेको छैन। यस्तो अवस्थामा अध्यादेश ल्याउनु गलत हो,' खनालले भन्नुभयो।
नेता खनालले वर्तमान सरकारलाई सङ्कटको भारी बोकेर हिँडिरहेको आरोप लगाउनुभयो।






प्रतिक्रिया