ओखलढुंगा-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदबाट अध्यादेश पास भएपछि संविधान संशोधनको काम अगाडि बढ्ने बताउनु भएको छ।
ओखलढुङ्गामा पार्टी स्कूल विभागको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सरकारले अघि सार्ने सबै अध्यादेश संसदबाट पारित हुने र त्यसपछि संविधान संशोधन अगाडि बढ्ने बताउनु भएको हाे।
अध्यादेश दुवै सदनबाट पारित हुने उपमहासचिव ज्ञवालीको दाबी छ। अहिलेको सत्ता गठबन्धले संविधान संशोधन गरेर कतिपय समस्याहरु समाधानको बाटो लिएकाले दलसँगको समन्वयमा संशोधन प्रकृया अघि बढ्ने बताउनु भयो।
‘तत्कालका लागि अध्यादेश ल्याएर कतिपय कामको बाटो फुकाउने र दिर्घकालिन निकायका लागि संविधान नै संसोधन गर्ने भन्ने सत्तारुढ दलको तयारी छ।’ उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘सरकार साना समस्यामा अल्झेर समय खेर फाल्दैन, देशको विकास र राजनीतिक निकासका लागि कांग्रेस–एमालेले लामो सत्तासहयात्रा गरेर अघि बढ्छन्।’
उपमहासचिव ज्ञवालीले १० वटा लक्ष्य राखेर पार्टीलाई आन्तरिक रुपमा सबल, सुदृढ र सशक्त बनाउन तथा जनताका कुरा सुनेर सम्बोधन गर्न पार्टीले ‘जरा केन्द्रित अभियान’ देशैभर सञ्चालन गरेको बताउनु भयो।
जिल्लामा जारी ‘जरा केन्द्रित अभियान’ लाई थप प्रभावकारी बनाउन नेकपा एमाले स्कुल विभाग ओखलढुंगाको आयोजनामा मंगलबारबाट सुरु भएको तीन दिने प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमको प्रशिक्षकको रुपमा उपमहासचिव ज्ञवालीले ओखलढुङ्गा जानु भएको थियो । मंगलबारबाट सुरु भएको प्रशिक्षण बिहीबार समापन हुनेछ।
जिल्लाको आठ वटै पालिकाबाट तीन/तीन जना गरि प्रशिक्षणमा कुल २४ जनाको सहभागीता रहेको स्कुल विभाग प्रमुख तथा पार्टीका जिल्ला उपाध्यक्ष कमल प्रसाद न्यौपानेले जानकारी दिनुभयो।






प्रतिक्रिया