अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विषादी: जाने उत्पादन बढ्छ नजाने ज्यानै जान्छ

विषादी: जाने उत्पादन बढ्छ नजाने ज्यानै जान्छ


अहिले प्राय प्रत्येक घरमा कुनै न कुनै नसर्ने रोग लागेको पाइन्छ। रोग लाग्नुको कारण हाम्रो खानपान र आहार विहार नै हो। हाम्रो भान्छा कोठामा प्रयोग हुने विषादीको कारण अहिले घर घरमा कुनै न कुनै रोग लागेकै पाइएको छ। हामीले भान्छा कोठामा प्रयोग गर्ने फलफूल तथा तरकारीमा अत्यधिक रूपमा विषादी भित्र्याइरहेका छौं। हामीले विषादी न्यूनीकरण नगरेसम्म नसर्ने रोगहरूले हाम्रो घर छोड्ने छैनन्। त्यस कारण हामी विषादीबारे सचेत हुन जरुरी छ।

कुनै पनि शत्रु किरा, ढुसी, ब्याक्टेरिया, झारपात तथा अन्य जीव जसले हाम्रो बाली नाली, बोट-बिरुवा, वन, जङ्गल र हाम्रो स्वास्थ्यलाई हानी पुर्‍याउने, गुणस्तरमा ह्रास ल्याउने भण्डारणमा क्षति पुर्‍याउने किरा, ढुसी, झारपात तथा ब्याक्टेरियाहरूलाई न्यूनीकरण तथा रोकथामको लागि प्रयोग गरिने रसायन युक्त विषादीलाई रासायनिक विषादी भनिन्छ।

सबैभन्दा पहिला त विषादी विष हो, औषधी हैन भन्ने कुरा विषादी व्यवसायी तथा प्रयोगकर्ताले बुझ्नु जरुरी छ। सही तरिकाबाट विषादी प्रयोग भए बालीनाली वा खेतबाट लाभ लिन सकिन्छ भने गलत तरिकाबाट विषादीको प्रयोग भए यसले खतरा पनि निम्त्याउने छ।

जहाँसम्म नेपालमा विषादीको प्रयोगको अवस्था छ साधारणतया हेर्दा खेरि त्यति आत्तिहाल्नु पर्ने अवस्था छैन । नेपालमा १ वर्षमा जम्मा ३९६ ग्राम प्रति हेक्टर विषादीको प्रयोग हुन्छ तर त्यसमध्ये ८० प्रतिशत तरकारी बालिमा प्रयोग हुने गरेको छ । अन्य देशको तथ्याङ्क हेर्ने हो भने भारत-६०० ग्राम प्रति हेक्टर, चीन: १३ के.जी. प्रति हेक्टर, युके: ७ के.जी. प्रति हेक्टर, मोरिसस: २८ के.जी. प्रति हेक्टर, इजरायल: १३ के.जी. प्रति हेक्टर, जापान: १२ के.जी. प्रति हेक्टर, माल्दिप्स: १७ के.जी. प्रति हेक्टर जग्गामा विषादि प्रयोग हुने गरेको छ।

माथिका यी सम्पूर्ण देशहरूले प्रयोग गर्ने विषादी भन्दा हाम्रो देशमा अति न्यून मात्रामा मात्र विषादीको प्रयोग भएको पाइएको छ। तर किन नेपालमा विषादीको अवस्था भयावह देखिएको वा देखाइएको हो ? आउनुहोस् त्यसका बारेमा केही कुराहरू जानौं।

नेपालमा लगभग २५ प्रकारका विषादीहरूलाई प्रतिबन्ध गरिएको छ तर छिमेक देशमा ती विषादीहरूलाई प्रतिबन्ध गरिएको छैन। जसमध्ये भारतमा सजिलै पाइने प्रतिबन्धित विषादीहरू (१) मोनोक्रोटोफस (मोनोशील/सुफोस आदी), (२) ट्रायजोफस, (३) फोरेट, (४) कार्बाेफ्युरान र भर्खरै प्रतिबन्ध भएका (कलोरोपाइरिफस) यी बाहेक अन्य पनि धेरै विषादीहरू भारतका बजारमा जताततै सजिलै पाइने गरेको । खुला बोर्डरका कारण हाम्रा किसान दाजुभाइहरू भारतमा गएर ती विषादीहरू ल्याएर आफ्नो बारीमा प्रयोग गरिरहेको पाइएको छ। सरकारी तर्फबाट त्यो नियन्त्रणको लागि कुनै पहल गरिएको छैन।

सर्वप्रथम किसानहरुलाई जागरुक बनाउनु प¥यो ति खतरनाक विषादीहरुको बारेमा । दोश्रो महत्वपूर्ण कुरा भनेको विषादी प्रयोग पश्चात पर्खनु पर्ने समय हो । कुनै पनि विषादी वालिनालीमा प्रयोग गरी सकेपछि न्युनतम पर्खनु पर्ने समय हुन्छ । जुन कुरा विषादी विक्रेताले किसानलाई भन्नुपर्ने हुन्छ र किसानले पनि सोही अनुसार बजारमा बेच्नु अघिसम्म पर्खनु पर्ने हुन्छ । केही विषादी ३–५ दिन पर्खनु पर्ने हुन्छ भने केही विषादी ८–१५ दिन । त्यसै गरी नेपालमा प्रतिवन्ध भएका विषादी मोनोक्रोटोफसको पर्खनु पर्ने समय ४० दिन हो । हालसालै झापाको तरकारी खेती गर्ने किसानले भारतबाट मोनोक्रोटोफस ल्याएर प्रयोग गरेको पाइएको थियो । जसको असर लामो समय सम्म रहन्छ । त्यही विषादीको कारणले जर्मनबाट नेपाली चिया फिर्ता भएको थियो । खुला सिमानाको कारण त्यस्ता कति विषादी नेपालमा ल्याएर भारतीय किसानहरुले नेपालमा खेती गरेर उत्पादन गरेको पाइएको छ । यो मोनोक्रोटोफस विषादी झापाका लिची बगान, आँप बगानमा अत्याधिक प्रयोग भएको पाइएको छ ।

इजरायलमा अत्याधिक विषादीको प्रयोग हुन्छ । इजरायलको एक जना किसानले ५० जनालाई खाना पु¥याउँछ जवकी नेपालमा एकजना किसानले २ जनालाई पनि खाना पु¥याउन नसकेर भारतबाट खाद्यान्न आयात गरी ल्याउनु पर्ने अवस्था छ । अनि त्यही इजराइलले सिङ्गापुरमा तरकारी र फलफूल निर्यात गर्छ । तर, त्यस तरकारी र फलफूलमा विषको मात्रा हुँदैन किन ? सोच्नु भएको छ ? त्यो पर्खनु पर्ने समयको कारण हो । हाम्रा किसानले आज विषादी हालेको भोलि बजारमा गएर बेच्ने गरेको पाइन्छ । समस्या यहीँ छ, यदि हामीले पर्खनु पर्ने समयमा मात्र ध्यान दिने हो भने ५०% विषादी दुरुपयोग वन्द हुन्छ । जसको पर्खिनु पर्ने समय पनि बढी हुन्छ ।

खतरनाक विषादी
१) अर्गेनोक्लोरिन्स
२) अर्गेनोफोस्फेट

यी दुवै प्रजातिका विषादी नेपालले प्रतिवन्ध गरेको छ तर भारतमा छैन तसर्थ किसानहरुले यस प्रकारका विषादीको प्रयोग गर्नुहुँदैन । अर्गेनोक्लोरिन्स जातका विषादी नष्ट नहुने र हाम्रो शरिरमा वोसोमा बस्ने हुँदा क्यान्सर हुने सम्भावना हुन्छ ।

कसरी विषादी न्यूनिकरण गर्ने र कसरी सुरक्षित रहने सबैभन्दा पहिला भारतबाट लुकाई छिपाइ ल्याइएका विषादीको प्रयोग नगर्ने र गर्न नदिने।
– रोग र किराको पहिचान पछि मात्र विषादीको प्रयोग गर्ने।
– नेपालमा प्रतिवन्धित विषादीको प्रयोग नगर्ने।
– विषादीको लेवल हेरेर विषादीको प्रयोग गर्ने

१. रातो: अत्यन्त खतरनाक
२. पहेँलो: खतरनाक
३. निलो: मध्यम खतरनाक
४. हरियो: सामान्य खतरनाक, तसर्थ भरसर हरियो लेवलको विषादीको प्रयोग गर्ने।

  • जैविक विषादीको प्रयोग गर्ने।
  • सुरक्षीत पहिरन लगाउने।
  • हावाको वहावलाई ध्यान दिएर स्प्रे गर्ने।
  • प्राविधिक को सल्लाह बमोजिम विषादीको खरिद र स्प्रे गर्ने।
  • विषादीलाई औषधि भनेर प्रयोग नगर्ने।

सरकारलाई सुझाव
नेपाली किसानहरु किन भारत गएर विषादी खरिद गरिरहेका छन ? यो कुरालाई पनि मध्यनजर गर्नु जरुरी छ। नेपाल सरकारले विषादीमा १३ प्रतिशत भ्याट र शुक्ष्म तत्वमा २३ प्रतिशत कर लगाएको कारण नेपालमा भन्दा भारतमा कम मुल्य पर्ने भएपछि नेपाली किसानले भारत गएर विषादी खरिद गरी ल्याउने प्रचलन पछिल्लो पटक बढेको देखिएको छ। अर्काे कारण भारतमा त्यस्ता विषादीको अत्याधिक विक्री छ जुन नेपालमा प्रतिवन्धित छ। त्यस्ता विषादी नेपाली किसानले प्रयोग गरिरहेको पाइएको छ। त्यसको असर नेपाली विषादी व्यवसायीहरुले भोग्नु परेको छ। तसर्थ नेपाल सरकारले यस बजेटमा कृषि सामाग्री, विषादी, शुक्ष्म तत्वमा लगाएको, भ्याट हटाउन पर्‍यो। यसै कारणले गर्दा किसानको लागत मुल्य पनि १३ प्रतिशतले बढेको त छ तर उत्पादनको विक्री मुल्य घटेर किसान मारमा परेका छन्।

अन्य सुझावहरु बुदाँगत रुपमा यस प्रकार रहेका छन:

  • खुला सिमाबाट चोरीछिपी विषादीको आगमन रोक्ने।
  • लाइसेन्स नभएका व्यवसायीहरुले विषादीको विक्री गरे कारवाही गर्ने
  • किराना/हार्डवेयर जस्ता ठाउँमा विषादीको कारोबार भै रहेको देखिएकोमा त्यसको नियन्त्रण गर्ने।
  • भारतबाट आएर नेपालमा खेती गर्ने किसानहरुको अभिलेख राखी उसको खेतमा प्रयोग हुने विषादीको अवलोकन गर्ने।
  • विषादी व्यवसायीहरुलाई बेला बेलामा विषादीको सुरक्षित प्रयोग बारे तालिमको व्यवस्था गर्ने।
  • भारतबाट आउने तरकारीहरुको विषादी परिक्षण गर्ने (बोर्डरमा नियन्त्रण गरे राम्रो)
  • किसानहरुलाई पालिकाहरुले विषादी सम्बन्धी जागरुक बनाउने र प्रतिवन्धित विषादीबारे जानकारी दिने।

विषादीको बारेमा किसान, व्यवसायी र उपभोभोक्ता सबै सचेत हुन सकेमा मात्रै विषादी नियन्त्रण हुन सक्छ। खुल्ला सीमा भएको नेपालमा सबै सीमा क्षेत्रमा विषादी सरकारी नियन्त्रण हुन जरुरी छ। र, सरकारले विषादीको वर्गिकरणको आधारमा आयात गर्ने अनुमति र कर निर्धारण गर्न जरुरी छ। जैविक विषादी त्यसमा पनि घरेलु विषादी बनाउने विधि र तरिका सिकाउँदै किसानलाई जागरुक गराए कम लागतमा उत्पादन बढ्ने र बढाउने कार्यमा कृषि मन्त्रालयको ध्यान जान जरुरी छ।

केही भारतीय मानिसहरु अहिले हाम्रो गाउँघरतिर आँप/लिचीमा फूल, फल अड्याइदिने भनेर विभिन्न विषादीहरु प्रयोग गरेर पैसा कमाइ रहेका भेटिएका छन्। तिनीहरुलाई पनि सरकारी निकायले तत्काल नियन्त्रण गर्नुपर्ने अवस्था छ।

(बिर्तामोड–४ निवासी ढकाल झापाका कृषि विज्ञको रुपमा क्रियाशील हुनुहुन्छ।)