काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा भरोसा गर्ने पार्टीहरू देश र लोकतन्त्र प्रति चुनौती आउँदा एक ठाउँमा उभिनु स्वाभाविक भएको बताउनुभएको छ।
नेकपा एमाले बाग्लुङद्वारा आयोजित वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस र एमाले मिल्नुको उद्देश्य राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि भएको बताउनु भयो। ‘चुनौतीलाई सामना गर्न लोकतन्त्रमा विश्वास गर्ने दलहरू मिल्नु स्वाभाविक थियो, हामी अहिले मिलेका छौँ’, महासचिव पोखरेलले भन्नुभयो।
नेता र पुराना पार्टीलाई गर्नु भन्दा पनि पुराना पार्टीलाई काम गर्ने अवसर दिनुपर्ने महासचिव पोखरेलले बताउनुभयो। जसले आन्दोलनको नेतृत्व गरे ती राजनीतिक दलले देशमा सरकार चलाउन नै नपाएका महासचिव पोखरेलको भनाइ छ। ‘यो मुलुक राजतन्त्रको अकर्मण्यताको कारणले पछाडि पर्यो, उसको स्वार्थी व्यवहारको कारण आज हाम्रो मुलुक पछाडि पर्यो’, महासचिव पोखरेलले भन्नुभयो।

अहिले एउटा स्वार्थी जमात फेरि राजा आउ देश बचाउ भन्दै नारा लगाएर हिँडेको पोखरेलले बताउनु भयो। जुन राजाले यो मुलुकलाई यो हालतमा पुर्यायो, फेरि राजा आऊ देश बचाउ भन्ने मूर्खहरू भएका महासचिव पोखरेललेको टिप्पणी छ।
नेपालमा हिंसात्मक राजनीतिलाई अगाडि बढाउने कुरामा राजतन्त्रको पनि हात रहेको महासचिव पोखरेलले बताउनुभयो। माओवादीलाई राजतन्त्रले उक्साएर राजनीतिक दलहरू विरुद्ध प्रयोग गरिएको उहाँले प्रष्ट पार्नुभयो। नेपाली राजनीतिलाई हिंसामा होम्ने र जातजातिका नाममा अस्थिरता मच्चाउने काम राजतन्त्रको आडमा माओवादीले गरेको महासचिव पोखरेलको भनाइ छ।

नेपालमा नीतिका आधारमा अब राजनीतिक ध्रुवीकरण आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो। देशलाई अब दुई ध्रुवमा विभाजित गर्नुपर्ने र त्यसको लागि बलिया दुई राजनीतिक दल आवश्यक रहेको उहाँको धारणा छ।
देश बनाउने हो भने आँट र सामर्थ्य भएको नेता आवश्यक पर्ने उहाँले बताउनुभयो। त्यो आँट र सामर्थ्य नेकपा एमालेका अध्यक्ष एवं वर्तनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको पोखरेलले दाबी गर्नुभयो।






प्रतिक्रिया