काठमाडौं-नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा बहस नगर्न आग्रह गर्नुभएको छ।
राजतन्त्रलाई नेपाली जनताले अस्वीकार गरिसकेको नेता ढुङ्गेलले बताउनुभएको छ। ‘गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’, सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ढुङ्गेलले लेख्नुभएको छ।
राजतन्त्रको एकदलीय निरङ्कुश, तानासाही, दमनकारी पञ्चायती व्यवस्था नेपाली जनताले भोगेको नेता ढुङ्गेलले स्मरण गराउनुभएको छ। ‘राजतन्त्रको समयमा भएको हत्या, हिंसा, जेलनेल, राजनीतिक दल माथिको प्रतिबन्ध भोगेकै हो। राजतन्त्रकै नेतृत्वमा हिरोइन, स्न्याक र ह्यासिसहरू भित्रिएका हुन्। पुराना मूर्तिहरू चोरिएका र बिदेसिएका हुन्’, अध्यक्ष ढुङ्गेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

राजतन्त्रमा अशिक्षा, अभाव, गरिबी, भोकमरी र गरिबी लगायत दुष्चक्रको कहाली लाग्दो अँध्यारो युग नेपाली जनताले भोगेको नेता ढुङ्गेलले स्मरण गराउनुभएको छ। ‘सडक, खानेपानी, विद्युत्, सिँचाइ, सञ्चार जस्ता पूर्वाधारको अभावै अभाव भोगेकै हो, राजतन्त्रलाई नेपाली जनताले अस्वीकार गरी रक्षानमा फ्याँकेकै हो, तसर्थ राजतन्त्रको वकालत नगर्दा हुन्छ, इतिहास मरेको छैन नेपाली जनताले भुलेको छैन’, उहाँले लेख्नुभएको छ।
नेता ढुङ्गेलले राजतन्त्रको पक्षमा नारा लगाउनेलाई फेरी राजतन्त्र फर्किने सपना नदेख्न आग्रह गर्नुभएको छ। ‘फेरि सत्रौँ शताब्दीतिर नफर्किए हुन्छ, राजतन्त्र फिर्ता हुने सपना नदेखे हुन्छ, गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’, उहाँले लेख्नुभएको छ।






प्रतिक्रिया