अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुरातन सोचका कारण संघीयता कार्यान्वयनमा समस्या : मुख्यमन्त्री कार्की

पुरातन सोचका कारण संघीयता कार्यान्वयनमा समस्या : मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रमा देखिएको पुरातन सोचका कारण संघीयता कार्यान्वयनमा समस्या उत्पन्न भएको बताउनुभएको छ।

आज विराटनगरमा मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको सातौं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले केन्द्रमा भएको न्याय, सुरक्षा र राजनीतिक क्षेत्रमा पुरातन र सामन्ती सोच देखिएकाले संघीयताको सबल कार्यान्वयनमा समस्या आएको बताउनुभयो।

कतिपय अवस्थामा आफ्नै सम्पत्ति निःशुल्क दिए जस्तो प्रवृत्ति देखिन्छ। मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘दिन सकिने र गर्न सकिने काम पनि केन्द्रीकृत मानसिकताबाट गर्न नदिने प्रवृत्ति छ।’

कतिपय चाहिँ दिन खोज्नुभएको छ तर हात्ती छिरो पुच्छर अड्के जस्तो भएको बताउदै उहाँले यो परिस्थिति देखेर आफ्नो स्रोत र साधनलाई अधिकतम उपयोग गरेर नमुना काम गर्ने प्रयत्नमा रहेको स्पष्ट पार्नुभयो। ‘अब हामी आफ्नै प्रयत्नमा उत्पादन र स्वरोजगारमूलक बजेट बनाएर काम गर्ने तयारीमा छौं, ‘ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘यसका लागि बेलैदेखि तयारी गरेर बजेट ल्याउने प्रयत्न गरेका छौं।’

स्थापना दिवसको अवसरमा संघीयता कार्यान्वयनका विषयमा देखिएका कानुनी जटिलता र विविध विषयलाई लिएर छलफल आयोजना गरिएको थियो। सो छलफलमा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले कर्मचारीतन्त्रबाट कानुन निर्माण गर्ने भन्दा पनि सांसदहरुले नै कानुन निर्माण गर्ने प्रक्रिया थालनी गर्नुपर्नेमा जोड दिनुभयो।

मुख्यमन्त्री कार्कीले भन्नुभयो , ‘अहिलेको कानुन निर्माण कर्मचारी तन्त्रबाट सुरु हुन्छ। अबको नयाँ युगमा संसदहरूले कानुन निर्माण गर्ने र कर्मचारीलाई पछाडि केही तलमाथि मिलाउन दिने गर्नु पर्छ, यसो गरियो भने मात्रै जनताले अपनत्व लिने कानुन बन्छ।’

अर्का विज्ञ डाक्टर सोमलाल सुवेदीले संविधान सैद्धान्तिक र कस्मेटिक मात्रै भएको चर्चा गर्दै व्यावहारिक संविधान बनाउन नसकेको उल्लेख गर्नुभयो। संविधानका धेरै विषयहरु र अनुसूचीलाई परिवर्तन गरेर संविधानलाई कार्यान्वयन र व्यवहार कार्यान्वयन र व्यवहारमुखी बनाउनुपर्ने उहाँले बताउनुभयो ।