काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्व राजा ज्ञानेन्द्र शाहको उक्साहटमा संविधानविपरीतका कामहरू भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद बर्तौलाले सरकारको ध्यानाकर्षण गराउनु भएको हाे। उहाँले राजावादीहरूले पञ्चायतकालको राष्ट्रियगान बजाएकोप्रति आपत्ति जनाउनु भयो।
हरेक नागरिकले संविधानको पालना गर्नुपर्ने लेखिए पनि पूर्व राजा शाह र उहाँका समर्थकहरूले संविधान विपरीत कार्यहरू गरेकाले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग सांसद बर्तौलाले माग गर्नुभयो। उहाँले र्यालीहरूमा विदेशीको फोटो प्रदर्शन गरिएकोप्रति पनि आपत्ति जनाउनु भयो।
‘संविधानको धारा १ मा संविधानको पालना गर्नु सबैको कर्तव्य भनिएको छ। संविधानविपरीत गरिने सबै कार्य दण्डनीय हुने व्यवस्था छ तर पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको नाममा, निर्देशन र उक्साहटमा संविधानविरीतका काम भइरहेका छन्। पञ्चायतकालीन राष्ट्रिय गान गाउनु संविधानविरोधी क्रियाकलाप भइरहेका छन्’, प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘यति मात्र होइन, र्यालीहरूमा विदेशीको तस्बीर देखियो। यो राष्ट्रियहित प्रतिकूलको कार्य हो। यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्ने हुन्छ। लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, निरंशुकतन्त्र हुन सक्दैन।’
प्रतिक्रिया