अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विचार

होलीलाई सांस्कृतिक पर्वका रूपमा मनाऔँ

होलीलाई सांस्कृतिक पर्वका रूपमा मनाऔँ


काठमाडौं-नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृति र बहुजातिय भएको देश हो। हामी अनेक थरीका भाषा बोल्छौँ। अनेक थरीका धर्म-संस्कृति मनाउँछौँ। अनेक थरीका चाडपर्व र जात्रा मनाउँछौँ। सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक आदि क्षेत्रमा विविधता भएता पनि हामी सबै नेपाली हौं। अझ भन्ने हो भने अनेकतामा एकता छ।

हामीलाई आफ्नो देश नेपाल अति प्यारो लाग्छ। हामी विदेशमा सम्पन्न सुविधामा बसे पनि आफ्नो मातृभूमीको वनजंगल, खोला, झरना, पहाड, हिमाल, ताल पोखरी, नदी, लेखबेँसी आदि रमणीय ठाउँलाई बिर्सन सक्दैनौं, सम्झिरहन्छौं। यस अर्थमा पराम्परादेखि मान्दै आएको चाडपर्वलाई बिर्सन खोजे पनि हामी बिर्सन सक्दैनौ। कुन पर्व कहिले पर्दो रहेछ भनेर हामी क्यालेण्डर हेर्न थाल्छौं। दैनिक कामबाट फुर्सद हुने बित्तिकै हरेक मानिसहरू आ-आफ्नै तरीकाबाट मनोरञ्जन र प्राकृतिक दृश्य हेरेर रमाउन चाहन्छन्। कोही मनोरम र प्राकृतिक दृश्यहरू हेरेर, कोही मीठा-मीठा खाने कुरा खाएर, कोही नाचगान गरेर, कोही घुमफिर गरेर रमाउँछन्। मनोरञ्जन जुनसुकै समयमा पनि गर्न सकिन्छ तर विशेष गरी चाडपर्वका दिन दुःख, पीडा, बोझ, चिन्ता, थकान सबै कुरालाई बिर्सेर परिवार, साथीभाइ र आन्तसँग हासखेल गर्दै रमाइलो गर्नुको बेग्लै आनन्द हुन्छ । त्यसैले मानिसहरू अरू समयमा भन्दा चाडपर्वमा रमाइलो र आनन्द लिने गर्छन्।

हाम्रो देशमा चैते दसैँ, साउने सङ्क्रान्ति, तीज, दसैँ, तिहार, माघे संक्रान्ति र होली आदि चाडपर्व मनाइन्छ। यी चाडपर्वको आ-आफ्नै महत्व र विशेषता हुन्छ। यस अर्थमा होली पर्वको पनि आफ्नै महत्व र विशेषता छ। होली पर्व अर्थात् फागु पूर्णिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो। हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ।

यसै सन्दर्भमा, हाम्रो विशेष पर्व होली अर्थात् फागु पूर्णिमा उपत्यकासहित पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) मनाइँदै छ भने भोली (शुक्रबार) तराईका जिल्लामा मनाइने छ। होली भनेकै रंगहरूको उत्सव हो। फागुपूर्णिमा आफैंमा उल्लासले भरिएको पर्व हो। खुसीको पर्व हो। उमंगको पर्व हो। उत्साहको पर्व हो। रङको पर्व हो। भनिन्छ होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर उत्साह र उमङ्गका साथ एकअर्कालाई रंग्याएर रमाइलो गर्ने चलन छ। पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका साना-साना  केटाकेटीदेखि युवायुवती र बुढापाकासम्म होली खेल्न खुब रौसिन्छन्। घरपरिवार, साथीभाइ एक आपसमा मिलेर रङमा रङ्गिएर उल्लासपूर्वक  रमाइलो गर्दै होली मनाउने गर्छन्। होली प्रेम, माया, सद्भाव र दुःख-पीडा बिर्साउने तथा खुशीको पर्वको रूपमा पनि मनाउने गरिन्छ। त्यसैले होली नेपाली समाजमा विशेष महत्व चाडको रूपमा लिने गरिन्छ। आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने असत्यमाथि सत्यको जित सहित हर्ष, खुसी, उल्लासका साथ यो पर्व मनाउने गरिन्छ। यो पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतिकको रूपमा पनि लिने गरिन्छ।

होलीको दिन एकअर्कालाई रंग्याएर रमाइलो गर्ने चलन छ। विभिन्न रंगमा रंगिएर खुशी बाडनु होलीको विशेषता नै हो। तर हिजोआज रमाइलो तथा खुशीको पर्व भन्दा पनि समाजमा विकृति बढ्दै गएको पाइन्छ। पछिल्लो समय बजारमा पाइने अनेक किसिमका केमिकल मिलाएर बेचिएका रंग, अबिरले कतिको अनुहार बिगार्ने समेत गर्छ। यतिमात्र होइन छिमेकी मुलुक भारतमा त रिस उठेका व्यक्तिलाई होलीकै दिन पारेर एसिड छ्याप्ने गरेको सुन्नमा आएको छ। रंग मिसाएको भाङका मिठाइ व्यापारीले बेच्ने गर्छन्। जसको कारण कति मानिस झाडापखालाको सिकार हुन पुग्छन्।

होली पर्व सुरु हुनुभन्दा एक महिना अघिदेखि नै पानी हानेर भिजाइ दिन्छन्। बाटो हिँड्दा कतिखेर कहाँबाट लोला, बेलुन प्रहार हुन्छ वा फोहोर पानीले भिजिने हो भनेर त्रसित हुनुपर्ने अवस्था छ। त्यसैले होली पर्वको नाममा विकृति फैलिएको छ। यस्तो त्रासमा आफन्त साथी पनि पर्न सक्छन् भन्ने हामीले कहिल्यै सोचेनौं। होलीको नाम कसैले बेलुन हिर्काउँदा, पानीले भिजाउँदा उत्प्रेरित गर्ने कि आक्रोशित हुने ? अझ महिलाका लागि पीडा र हिंसाको पर्व साबित भएको छ। अझैं भन्ने हो भने महिलाका संवेदनशील अंगलाई निसाना बनाई लोला तथा अन्य वस्तुले हान्ने गर्छन्। महिलाहरूलाई पानी छयाप्दा बेलुन तथा अन्य वस्तुले लागेर बेहोस भएका घटना धेरै उदाहरण हाम्रो सामु छर्लङ्ग छ। तर पनि हामी बेलुन र पानी आदि वस्तु हान्न पछि हटदैनौं। कोही भाङ, गाँजा र जाँडरक्सी सेवन गरी अरूलाई गाली गर्छन्। यसरी होली पर्वको नाममा अरूलाई धक्का पुऱ्याउनु राम्रो होइन। के मादक पदार्थ सेवन नगरी रमाइलो गर्न सकिंदैन र ? पीडा, हिंसा, त्रास र विकृतिको रूपमा होइन, कसैलाई बाधा नहुने गरी होली मनाउँदा के फरक पर्छ र ? त्यसैले कसैका लागि होली रमाइलो पर्व होला ! कसैका लागि मानसिक त्रास र विकृतिमा परिणत भएको छ।

होली चाड मान्दै नमान्नु भन्न खोजेको चाहिं होइन। कुनै पनि चाड मनाउँदा सबै पक्षलाई ध्यानमा राखेर मनाउँदा राम्रो हुन्छ। होली पर्वमा रङ, लोला खेल्न जति मज्जा र राम्रो लाग्छ त्यति नै घातक पनि छ। लोला हान्नेले कहिल्यै महसूस गर्दैन, लोला खानेले कति हैरानी भोग्नुपर्छ। केही रङ स्वास्थ्यका लागि हानिकारक पनि हुन्छन्।

होली खेल्दा हामी सबैले अवश्य पनि विचार पुऱ्याउनु पर्छ। त्यसैले होली पर्वलाई मर्यादित बनाउनु हामी सबैको जिम्मेवारी हो। होली विकृतिको रूपमा होइन, पर्वको रूपमा मनाऔं । होलीमा जबर्जस्ती रङ तथा विभिन्न थरीका रङ मिसिएको तरल पदार्थ हान्नेलाई तत्काल पक्राउ गरी प्रशासनले ऐन/नियम अनुसार कारबाही गर्नु जरुरी छ। होलीको नाममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झगडा गर्नेलाई कारबाही गर्नुपर्छ। यस्तै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई पनि तुरुन्तै कारबाही चलाउनु आवश्यक छ। कुनै पनि चाडपर्वमा विकृति नआओस् भनी प्रशासनको विशेष ध्यान जानु आवश्यक छ।

होली पर्व कहिलेदेखि मनाउन थालिएको हो भन्नेबारे रोचक कथा छ। होलीको बारेमा पौराणिक भनाइ अनुसार हिरण्यकशिपुका छोरा प्रहलाद भगवान विष्णुका भत्त थिए। उनी रातदिन विष्णुकै नाउँ जप्थे। हिरण्यकशिपु चाहिँ विष्णुको नाउँ नै सुन्न चाहँदैन थिए । छोरो प्रहलादलाई विष्णुको भक्ति नगर्न बारम्बार सम्झाउँथे। तर, प्रहलादले बाबुको कुरा स्वीकार गरेनन्। छोराले बाबुको कुरा नमानेपछि हिरण्यकशिपुले प्रहलादलाई मार्नका लागि अग्लो पहाडबाट खसाले। तर प्रहलाद मरेन। त्यसपछि विष हालेर खाना खुवायो । तर पनि प्रहलाद मरेनन्। हिरण्यकशिपुको कुनै पनि उपाय काम लागेन । हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएका थिए । बहिनी होलिकाले हिरण्यकशिपुलाई प्रहलादले अग्निमा पनि नजल्ने बरदान पाएको बताइन्। तर दाजुले पत्याएन। त्यसपछि केही सिप नलागेपछि दाजुको आज्ञाअनुसार होलिकाले प्रहलादलाई काखमा राखेर आगोमा बसिन् । तर  प्रहलादलाई केही भएन। होलिका चाहिँ आगोमा जलेर भष्म भइन् । होलिका दहनकै खुसियाली मनाउन आपसमा रंग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता छ । त्यसै दिनको सम्झनामा होही पर्व मनाउन सुरु गरेको भन्ने किंवदन्तीमा उल्लेख गरेको छ। सत्यको जित र असत्यको हार भएको उपलक्षमा यो पर्व फागु पूर्णिमाको दिनदेखि सुरुवात भएको किंवदन्तीमा उल्लेख छ।