अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जतिबेला एमाले भूमिकामा आउँछ, त्यतिबेला महिलाको नेतृत्व स्थापित गर्दछ: शंकर पोखरेल

जतिबेला एमाले भूमिकामा आउँछ, त्यतिबेला महिलाको नेतृत्व स्थापित गर्दछ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्थम्भ भएको बताउनुभएको छ।

शनिबार नेकपा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवर्धनका लागि राजनीतिकर्मी भूमिका विषयक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो राजनीतिक परिवर्तन पछाडि समावेशितालाई संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रूपमा लिइएको बताउनुभयो। नेपालको संविधान यस अर्थमा उदाहरणीय छ भन्ने कुरा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा हुने गरेको पोखरेलले स्पष्ट पार्नुभयो।

नेपालको संविधान र निर्वाचन सम्बन्धी कानुनले नै महिलाको कम्तीमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको महासचिव पोखरेलले बताउनुभयो। स्थानीय तहमा ४० प्रतिशत भन्दा माथि र प्रदेश तथा प्रतिनिधि सभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको महासचिव पोखरेलको भनाइ छ।

महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको पनि महासचिव पोखरेलले स्पष्ट पार्नुभयो। पार्टीका दस्ताबेजमा महिला सहभागिता सुनिश्चित गर्ने पार्टी नेकपा एमाले नै भएको पनि उहाँले दाबी गर्नुभयो। जतिबेला एमाले भूमिकामा आउँछ, त्यतिबेला महिलाको नेतृत्व स्थापित गर्दछ’, महासचिव पोखरेलले भन्नुभयो।

नेकपा एमालेले नेपालको पहिलो राष्ट्रपति, पहिलो प्रधानन्यायाधीश, पहिलो सभामुख बनाउन भूमिका खेलेको उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो महिला मुख्यमन्त्री पनि एमालेले नै बनाएको उहाँले स्मरण गराउनुभयो। त्यस्तै पहिलो महिला मुख्य सचिव पनि एमाले नेतृत्वमा आएकै बेला भएको पोखरेलले बताउनुभयो। ‘यो विषयको नेतृत्वकर्ता पार्टी हो नेकपा एमाले, हामीले यो तथ्यलाई स्थापित गरेका छौँ’, उहाँले भन्नुभयो।

गएको स्थानीय तह निर्वाचनमा संविधानको अपव्याख्या गरेर एमाले विरुद्ध गठबन्धन गर्ने दलहरूले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा अलग अलग पार्टीका नाममा पुरुष उम्मेदवार उठाएकाले यस पटक स्थानीय तहमा महिला सहभागिता न्यून रहेको पोखरेलले बताउनुभयो ।

नेपालको संविधानले हरेक क्षेत्रमा शतप्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि पुरुष सहभागिता ६६ प्रतिशत भन्दा माथि हुन नसक्ने पोखरेलले बताउनुभयो । तर व्यवहारतः महिला सहभागिता ३३ प्रतिशतबाट माथि जान नसकेको बताउँदै उहाँले यसको लागि महिला सशक्तीकरण आवश्यक रहेको स्पष्ट पार्नुभयो।

आर्थिक सशक्तीकरण नभई सामाजिक सशक्तीकरण सहज नभएको पोखरेलले बताउनुभयो। ‘जबसम्म कमाइमा महिलाको सहभागिता बढ्दैन, तबसम्म राजनीतिमा महिला सहभागिता बढ्दैन, महिला सहभागिता बढाउने कुरा उत्पादनको ढाँचामा परिवर्तनसँग सम्बन्धित छ’, उहाँले भन्नुभयो ।

सामाजिक र सांस्कृतिक मान्यताको कारण पनि महिला पछाडि पारिएको महासचिव पोखरेलले बताउनुभयो। तर अहिले पनि महिलाहरूको तिनै कुरामा आशक्ति देखिएको बताउँदै उहाँले त्यसलाई चिरेर महिला आन्दोलन अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।