अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ: एमाले महासचिव पोखरेल

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ: एमाले महासचिव पोखरेल


काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै लाग्नुपर्ने बताउनु भएको छ।

नेकपा एमाले केन्द्रीय वन तथा वातावरण विभागद्वारा आयोजित वनको दिगो व्यवस्थापन, समृद्धि र जलवायु न्याय विषयक प्रशिक्षण तथा राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो।

महासचिव पोखरेलले बलिया राजनीतिक दल राज्य र सरकार हुँदा मात्र नागरिक र देशका साधन स्रोतको संरक्षण गर्न सक्ने बताउनुभयो। त्यसैले एमालेले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियान चलाएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो। ‘एमालेको नीति राष्ट्रको नीति बन्यो भने मात्र राष्ट्र बलियो बन्छ, त्यसको लागि एमाले बहुमत प्राप्त राष्ट्रिय शक्ति बन्नुपर्दछ’, महासचिव पोखरेलले भन्नुभयो।

महासचिव पोखरेलले पछिल्लो समय देश राजनीतिक सङ्क्रमणमा परेको बताउनुभयो। उहाँले अहिले परिवर्तन, राजनीतिक दल र व्यवस्थाप्रति सुनियोजित रूपमा वितृष्णा जगाउने प्रयत्न भइरहेको बताउनुभयो। ‘राजनीतिलाई जब अस्थिर बनाउने गरिन्छ, त्यति वेला प्रकृतिको दोहन बढ्छ’, महासचिव पोखरेलले भन्नुभयो।

हरेक कुराको एक अर्कासँग अन्तरसम्बन्ध हुने बताउँदै उहाँले वनको कुरा वनमा मात्र सीमित नहुने पोखरेलले बताउनुभयो। वन क्षेत्र बलियो बनाउन पनि बलियो राजनीतिक शक्ति आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो।

अहिले सरकारसँग जोडिएर गरिएका हल्लामा कुनै सत्यता नभएको उहाँले बताउनुभयो। राजनीतिक स्थिरता राख्ने र देशलाई निकास दिने कुरामा सत्तारुढ दल एकमत रहेका पोखरेलको भनाइ छ। ‘दुई पार्टीका शीर्ष नेतृत्व बिच राम्रो सम्बन्ध छ, सरकार ढल्छ भन्ने कुरामा कुनै सत्यता छैन’, उहाँले भन्नुभयो।

समाजको अत्यधिक ठुलो सङ्ख्या परिवर्तनको पक्षमा नै हरेकोले राजतन्त्रका पक्षधरका कुनै सपना पुरा नहुने उहाँले बताउनुभयो। यो आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर नगर्ने पोखरेलको भनाइ छ । तथापि राजतन्त्रको समयमा भोगेको कष्ट नयाँ पुस्तालाई बताउन जरुरी रहेको पोखरेलले बताउनुभयो । अन्यथा उनीहरू राजतन्त्रवादीहरूको भ्रमको खतीबाट प्रभावित हुनसक्ने पोखरेलको भनाइ छ।

देशमा लोकतन्त्र आएपछि यति धेरै परिवर्तन भएका कुरा युवालाई बुझाउन नसक्दा राजावादीहरूले भ्रम फिँजाउने काम गरेका उहाँले बताउनुभयो । नेपालको वनको विनाश सबैभन्दा बढी राणा र राजाहरूको पालामा भएको कुरा बिर्सन नहुने पोखरेलले स्पष्ट पार्नुभयो।

पोखरेलले डढेलो अहिले विश्वव्यापी समस्या बन्दै गएको बताउनुभयो। जतिसुकै शक्तिशाली राष्ट्रलाई पनि डढेलो नियन्त्रण गर्न गाह्रो हुन्छ भन्ने कुरा अमेरिकाको डढेलाले देखाएको पोखरेले बताउनुभयो।

नेपालमा खेतबारी जोत्ने काम कम भएको कारण पनि डढेलोको जोखिम थप बढ्दै गएको उहाँले बताउनुभयो । घाँस र पत्कर जम्मा गरेर लगाएको आगो उम्किँदा धेरै डढेलो लाग्ने गरेको पोखरेलले स्पष्ट पार्नुभयो।

मौसमको असन्तुलनको असरका कारण पनि नेपालले भीषण जोखिम बेहोर्नुपर्ने स्थिति आएको पोखरेलले बताउनुभयो । हिम पहिरो र हिमताल फुट्दा धेरै मानव बस्ती प्रभावित हुन लागेको पोखरेलले सुनाउनुभयो।

अस्वाभाविक वर्षाको कारण पनि नेपालले विपत्ति भोग्न लागेको उहाँले बताउनुभयो। यो पनि जलवायु परिवर्तनको असर नै भएको पोखरेलको धारणा छ। त्यसैले अब विपतजन्य सुरक्षामा नयाँ हिसाबले अघि बढ्नु पर्नेमा उहाँको जोड छ। जलवायु परिवर्तनका प्रभाका कारण उत्पन्न हुने विपतबाट बच्न अब परम्परागत योजनाले काम नगर्ने पोखरेलले स्पष्ट पार्नुभयो। ‘नयाँ परिस्थिति जन्मिएको कारणले हाम्रा, सोच, विचार र व्यवहार परिवर्तन आवश्यक छ’, उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दालाई उजागर गर्न सरकारले सगरमाथा संवाद कार्यक्रम आयोजना गरेको उहाँले सुनाउनुभयो । सो संवादले जलवायु परिवर्तनको प्रभाव नियन्त्रण गर्न ठुलो सहयोग पुग्ने पोखरेलले विश्वास व्यक्त गर्नुभयो।
जलवायु न्याय प्राप्त गर्ने कुरा निक्कै कठिन बन्दै गएको उहाँले बताउनुभयो। यस विषयमा अन्तर्राष्ट्रिय समुदाय उदार नदेखिएको पोखरेलको भनाइ छ। यसो हुँदा हुँदै पनि यो मुद्दा निरन्तर उठाइरहनु पर्नेमा पोखरेलले जोड दिनुभयो। ‘जलवायु न्यायको प्रश्न गौण बनेको छ’, उहाँले भन्नुभयो।

वनको दिगो र वैज्ञानिक व्यवस्थापनमा जोड दिनु पर्ने पनि उहाँले बताउनुभयो । त्यतिकै प्राकृतिक रूपमा छाडिदिने हो भने वन आफैँ नष्ट भएर जाने बताउँदै यसको व्यवस्थापनको उचित योजना बनाउनु पर्ने पोखरेलको सुझाव छ । वनबाट प्रतिफल लिने गरी योजना बनाउन उहाँले सुझाव दिनुभयो । वनको व्यवस्थापन गर्दा मानिसका आवश्यकता पुरा गर्ने गरी योजना बनाउनु पर्ने पोखरेलले बताउनुभयो।