काठमाडौं-नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार फेरिने कुनै सम्भावना नरहेको बताउनु भएको छ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले राष्ट्रिय सहमतिको आधारमै अहिलेको सरकार बनेकोले फेरिने सम्भावना नभएको दाबी गर्नुभयो। उहाँले सरकार फेरिने अनावश्यक हल्ला मात्र भएको बताउनुभयो।
प्रमुख सचेतक बर्तौलाले अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि २०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी तयारी गर्ने पनि बताउनुभयो।
उहाँले सरकार परिवर्तन कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने विषयमा दलहरू केन्द्रित नरहेको पनि बताउनुभयो। सरकारमा आउन रुचि भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उहाँले बताउनु भयो।
‘अहिलेको सरकार नै राष्ट्रिय सरकार हो। सरकार फेरिने अनावश्यक हल्ला मात्र हुन्। सहमतिअनुसार नै २०८४ को निर्वाचनसम्म पुग्छ। यसमा कसैले आशंका गर्नु पर्दैन। कोही राजनीतिक दललाई सरकारका आए हुन्थ्यो भन्ने पनि हुन सक्छ। कोही आउन चाहानुहुन्छ भने छलफल हुन सक्छ। तर, नेपाली कांग्रेस र एमालेको तर्फबाट अरू पार्टीलाई पनि सरकारमा ल्याउनका लागि छलफल चलाएका छैनन्,’ प्रमुख सचेतक बर्तौलाले बताउनुभयो।
प्रतिक्रिया