पोखरा-स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि छापिएको मतपत्रमा त्रुटि भएपछि विवादित बनेको पृथ्वीनारायण क्याम्पस (पीएन) पोखरामा चुनाव स्थगित भएको छ। भोलि (बुधबार) बिहान ८ बजेदेखि मतदान हुने जनाएको छ।
निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै बुधबार बिहान ८ बजेदेखि मतदान गर्ने जानकारी दिएको हो ।
‘मतदान केन्द्रमा स्ववियुको निर्वाचन मंगलबार बिहान ८ बजे मतदान सुरु गर्ने प्रक्रियामा प्रत्यक्षतर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल (छैठौं) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा स्ववियु निर्वाचन समिति गम्भीररूपले आत्मआलोचित भएको छ। सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारको प्रतिनिधिहरूको रायबमोजिम उक्त मतपत्र रद्द गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरू गर्न नसकिएको हुँदा उक्त मतदान कार्य चैत्र ६ गते बुधबारका दिन बिहान ८ः०० बजेदेखि सुरू हुने जानकारी गराइन्छ,’ निर्वाचन समितिले जनाएको छ।
पृथ्वीनारायण क्याम्पसको स्ववियुको २२ औं अध्यक्ष बन्न अखिल छैंटौंका मिलनसहित ८ जना मैदानमा छन्।
स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)बाट नविन अधिकारी, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन्। कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवारको रुपमा रहेका छ्न्।
समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद नेपाल, अखिल (छैठौ), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेद्वारी दिएका छन्।







प्रतिक्रिया