अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

हलेसी तुवाचुङमा डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले

हलेसी तुवाचुङमा डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले


खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक विद्यालय र नौवटा घरगोठ जलेर नष्ट भएको छ।

डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राई, बाघखोरका रणबहादुर राई, सिद्धथानका पविन्द्रकुमार राई र हिराधन राई, लाङ्माका कृष्णबहादुर राई, चयनकुमार राई र टंकबहादुर राईको घर तथा गोठ जलेर नष्ट भएको हो।

गत आइतबार रातीदेखि डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनमा डढेलो सुरु भएको थियो। ‘गाउँ पसेको डढेलो अहिले निभाइएको छ। छुम्पाङ क्षेत्रमा लागेको आगो गएराति निभाउन  सफल भयौँ’, उहाँले भन्नुभयो, ‘नेपाली सेना, सशस्त्र, जनपथ, नगरप्रहरी, स्थानीयलगायतले डढेलो निभाएका हुन्। भर्जेडाँडा क्षेत्रको सामुदायिक वनमा अहिले पनि डढेलो लागिरहेको छ। त्यसलाई निभाउने प्रयास गरिरहेका छौँ।’

डढेलो निभाइएपछि सदरमुकामबाट खटिएका नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरीको टोली फर्काइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिनुभयो। ‘जिल्ला विपद् व्यवस्थापन कोषबाट तत्काल प्रति घरपरिवार नगद रु १५ हजार, त्रिपाल र कम्बल एक/एक थान उपलब्ध गराएका छौँ । उनीहरुलाई थप राहत र पुनःस्थापनाका लागि पहल भइरहेको छ।’

आगलागी तथा डढेलोले कृष्णबहादुर राईको गाईको माउबाछा, सम्बरबहादुर राईको दुई माउ बाख्रा र च्यानटारका छोटे राईको दश माउ बाख्रा जलेर मरेको जनाइएको छ । स्थानीय लाङ्मा पाखामा चरनका लागि छाडिएका छोटे राईको दश माउमध्ये सातवटा जलेर मरेको अवस्थामा भेटिएको र तीनवटा नभेटिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो।

डिकुवामा भएको आगलागी पीडित घर परिवारलाई नगरपालिकाको तर्फबाट प्रतिघर रु.दश हजारका दरले नगद तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयमे। ‘डिकुवामा भएको आगलागीका घटनाको क्षति विवरण आइसकेको छैन। विवरण सङ्कलन गर्न टोली परिचालन गरिएको छ’, उहाँले भन्नुभयो, “मानवीय क्षति भएको छैन। घटना भएको स्थान सुख्खाग्रस्त भएकाले ठूलो क्षति व्यहोर्नुपर्‍यो ।’