काठमाडौं-नेकपा (एमाले)की सचेतक सुनिता बरालले संसद्लाई जनता भड्काउने थलोको रुपमा नभई नीति र कार्यक्रमका माध्यमबाट जोड्ने थलो बनाउन आवश्यक रहेको बताउनु भएको छ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले यस्तो बताउनु भएको हो।
सांसद बरालले जनताका समयसापेक्ष समस्या समाधान गर्न चालेका कदममा सहयोग गर्न समेत सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो। उहाँले नयाँ दलहरूले पुराना राजनीतिक दलका नेतृत्वमाथि पुस्ताको कुरा उठाएर गाली गर्ने काम मात्र गरेको समेत आरोप लगाउनु भयो।
सांसद बरालले जनता र नयाँ पुस्ताका समस्यामा बहस गरेर पुस्तान्तरण आवश्यकतालाई प्रमाणीकरण गर्न समेत आग्रह गर्नुभयो। उहाँले नेपालको अर्थतन्त्रमा उत्पादनले कम क्षेत्र ओगटेको उल्लेख गर्दै उत्पादन बढाउनु आजको आवश्यकता भएको बताउनुभयो।
सांसद बरालले भन्नुभयो‚ ‘सदनमा निराशा पाखेर जनतालाई भड्काउने होइन। नीति र कार्यक्रमका आधारमा जनतालाई समेट्ने थलो बनाउन आवश्यक छ। यो कुरालाई संस्थागत गर्न सरकारले चालेका पहलहरुमा सबैले सहयोग गर्न आवश्यक छ।’







प्रतिक्रिया