काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुने अवस्था अहिले पनि रहेको बताउनु भएको छ।
आज (बुधबार) राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले सो कुरा बताउनु भएको हो। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताउनुभयो।
अहिले पनि ८२५ मेगावाट विद्युत् आयात गरेर नेपालको आपुर्ति धानिरहहेको बताउँदै ऊर्जामन्त्री खड्काले भारतबाट आयातित विद्युत्का कारण लोडसेडिङ हटेजस्तो भएको जिकिर गर्नुभयो।
‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ। हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ। अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ,’ ऊर्जामन्त्री खड्काले भन्नुभयो, ‘हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ। निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ।’
मन्त्री खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको पनि जिकिर गर्नुभयो ।
प्रतिक्रिया