काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत ७ गते अर्थात् भोलिदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने विद्यार्थीहरुको उज्ज्वल भविष्यको शुभकामना दिनुभएको छ।
प्रधानमन्त्री ओलीले आज साँझ सामाजिक सञ्जाल मार्फत सन्देश दिंदै एसईई दिन लागेका विद्यार्थीहरुलाई परीक्षामा सफलताको शुभकामना दिनुभएको हो।
प्रधानमन्त्री ओलीले गत वर्ष एसईईको नतिजा त्यति राम्रो नभएको यस वर्षको राम्रो नतिजाको अपेक्षा गरेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, ‘यही चैत ७ गतेदेखि माध्यमिक शिक्षा परीक्षामा (एसईई) सुरू हुँदैछ। परीक्षाको तयारीमा जुट्नु भएको छ। गत वर्ष एसईईको नतिजा त्यति राम्रो नभएको यस वर्षको राम्रो नतिजाको अपेक्षा गरेको गरेको छु । त्यसैले परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीको उज्ज्वल भविष्यको कामना गर्दछु।’
प्रधानमन्त्री ओलीले नडराइ ढुक्कसाथ परीक्षा दिन विद्यार्थीलाई सुझाव दिनुभएको छ।
प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, ‘पहिला पहिला एसईई परीक्षालाई फलामे ढोका भनेर भनिन्थ्यो। त्यो शब्दले पनि विद्यार्थीहरुमा त्रास पैदा हुन्थ्यो। विद्यार्थी भाइबहिनीहरु परीक्षासँग नडराउनुहोस्। पपरीक्षा जीवनका कदम कदममा मोड मोडमा आइरहने चिज हो, धेरै परीक्षा उत्तीर्ण गरेर तपाईँहरू यहाँ आइपुग्नु भएको छ। भविष्यमा पनि तपाईँहरूले अनेक परीक्षा पार गर्नुपर्ने छ।’
प्रधानमन्त्री ओलीले धैर्यताको साथ नआत्तिन राम्रो तयारी गरेर परीक्षा दिन आग्रह गर्नुभएको छ। ‘धैर्यताका साथ नआत्तिईन राम्रो तयारी गरेर परीक्षा दिनुहोस्। अनिदो र थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भन्दै उहाँले त्यसबाट जोगिन आग्रह गर्नुभयो। ‘एसइईको परीक्षा आइहाल्यो, त्यस कारण तपाईँहरूसँग खेर फाल्ने समय छैन, मेरो धेरै धेरै शुभकामना छ, तपाईँहरू राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुस्, सबैमा धेरै धेरै शुभकामना’, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ।
प्रतिक्रिया