काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय निजामती सेवा ऐन जारी भएपश्चात् थारु, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणका विषय सम्बोधन हुने बताउनु भएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा प्रश्नकर्ता सांसद बिनाकुमारी थनैतले थारु समुदायलाई छुट्टै वर्गका रुपमा आरक्षणको व्यवस्था नगरिएको र निजामती सेवा ऐन जारी गर्न भइरहेको ढिलाइबारे प्रश्न गर्नुभएको थियो।
प्रधानमन्त्री ओलीले सांसद थनैतको प्रश्नको जवाफ दिँदै संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित भएर ऐन जारी भएपश्चात् थारु, मुस्लिम लगायतका अन्य पक्षको आरक्षण लगायतका विषय सम्बोधन हुने बताए । ‘उक्त विधेयक माथि अहिले संसद्को राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको छ। निजामती सेवा ऐनमासमेत थारु समुदायलाई आदिवासी समुदायमा राखी आरक्षणको अवसर प्रदान गरिएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो।
प्रश्न नम्बर ५ को जवाफ
सभामुख महोदय,
प्रश्नको लागि धन्यवाद।
१. सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसदको राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको छ। उक्त विधेयक पारित भई सङ्घीय निजामती सेवा ऐन जारी भए पश्चात थारु तथा मुस्लिम लगायतका अन्य पक्षहरूको आरक्षण लगायतका विषयहरू सम्बोधन हुने छन्। हालको निजामती सेवा ऐनमा समेत थारु समुदायलाई आदिवासी समुदायमा राखी आरक्षणको अवसर प्रदान गरिएको छ।
२. वर्तमान सरकार गठन भएपश्चात नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न सार्वजनिक पदहरुमा नियुक्ति गर्ने क्रममा समावेशी सिद्धान्तलाई अवलम्वन गरिएको कुरा माननीयजीलाई अवगत गराउन चाहन्छु ।
प्रतिक्रिया