अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छ: नेता डा. कोइराला

कांग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छ: नेता डा. कोइराला


काठमाडौँ-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्रै हुनुपर्ने बताउनुभएको छ।

नेपाली कांग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ का विषयक अन्तरक्रिया कार्यक्रममा नेता डा कोइरालाले महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताउनुभयो। उहाँले महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनुपर्ने बताउनुभयो।

‘महाधिवेशन २०८२ मङ्सिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ। त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो,” नेता डा कोइरालाले भन्नुभयो। उहाँले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै जनताको निराशालाई हटाउन जरुरी भएको धारणा राख्नुभयो।

नेता डा. कोइरालाले कांग्रेस जनताको पार्टी भएकाले कांग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको बताउनुभयो। जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर हुनुपर्ने बताउँदै उहाँले नेतृत्व नसुध्रिए अप्ठ्यारो परिस्थिति सिर्जना हुने जिकिर गर्नुभयो। ‘नेपाली कांग्रेस जनताको पार्टी हो। नेपाली कांग्रेसलाई अहिले पनि जनता विश्वास गर्छ। तर, हामी सुध्रिनुपर्‍यो। जनतासँग गरेका वाचाहरूलाई पूरा गर्न अग्रसर हुनुपर्‍यो। त्यो गरेनौँ भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ,’ नेता डा. कोइरालाले भन्नुभयो। कांग्रेसको ध्यान सत्ता र सरकार केन्द्रित भइरहेको उहाँको भनाइ थियो।