अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

देशमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक छ: शंकर पोखरेल

देशमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक छ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राजनीतिको प्रमुख कार्यभार आर्थिक समृद्धि र रूपान्तरण भएको बताउनुभएको छ।

नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको बन्दसत्रलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले भइरहेका प्रतिगामी हरकतको सामना गर्नुपर्ने भए पनि यो मुख्य विषय नभएको बताउनुभयो। ‘मुख्य विषय संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र मुलुकलाई आर्थिक, सामाजिक रूपान्तरणको दिशामा लिएर जाने हो’, महासचिव पोखरेलले भन्नुभयो।

मुलुकका मुख्य चुनौती र बाधा के हुन् भन्ने बुझेर हाम्रा योजना त्यस तर्फ केन्द्रित हुने पर्नेमा पोखरेलले जोड दिनुभयो। आर्थिक, राजनीतिक रूपान्तरणको मुख्य बाधक मुलुकमा विद्यमान अराजकता र राजनीतिक अस्थिरता भएको महासचिव पोखरेलले बताउनुभयो। यसले विकास र समृद्धिको आकाङ्क्षालाई अवरोध गरिरहेको स्पष्ट पार्नुभयो।

मुलुक बनाउनको लागि राजनीतिक स्थिरता आवश्यक पर्ने उहाँले बताउनुभयो। बारम्बार सरकार फेरिँदा मुलुक नबन्ने उहाँले स्पष्ट पार्नुभयो। ‘राजनीतिक स्थायित्वको अभावमा मुलुक बन्न सकेन, हाम्रो यथार्थ यही हो’, महासचिव पोखरेलले भन्नुभयो ।

अब नेपालमा धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दल आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो। त्यसको लागि नेकपा एमालेलाई निर्णायक राजनीतिक शक्ति बनाउन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो।

राजनीतिक स्थायित्वबाट मात्र उद्योग व्यवसाय क्षेत्र पनि अघि बढ्ने पोखरेलले बताउनुभयो । राजनीति स्थायित्व नहुँदा सम्म औद्योगिक क्षेत्र विकास हुन नसक्ने पोखरेलले स्पष्ट पार्नुभयो ।

नेपालको कृषि क्षेत्रलाई परम्परागत र निर्वाहमुखी बनाई रहँदासम्म नेपालका रोजगारी सिर्जना गर्न नसकिने महासचिव पोखरेलले बताउनुभयो नयाँ प्रविधिको प्रयोगबाट कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न सक्दा मात्र युवा पलायन रोकिने र देशमा उद्यम-व्यवसाय प्रवर्धन गर्न सकिने उहाँको धारणा छ ‘सबै क्षेत्रको विकासको निर्णायक कृषि क्षेत्र हो, मुलुकको आर्थिक, सामाजिक रूपान्तरणको आधार कृषि क्षेत्र नै हो’, उहाँले भन्नुभयो।

निर्वाहमुखी कृषिले युवालाई आकर्षण गर्न नसकिने बताउँदै उहाँले यसको लागि व्यावसायिक कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । पोखरेलले व्यवसायीलाई पनि कृषिमा व्यवसायीकरणका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो।

केपी ओली नेतृत्वको सरकार बनेपछि जनताको निराशालाई आशामा परिणत गर्ने काम सुरु गरेको उहाँले बताउनुभयो। देशको आर्थिक, सामाजिक क्षेत्रमा बिस्तारै परिवर्तनका सङ्केत देखिएको पोखरेलले स्पष्ट पार्नुभयो। देशको आर्थिक, सामाजिक रूपान्तरणकै लागि देशका दुई प्रमुख पार्टीहरू मिलेका महासचिव पोखरेलले बताउनुभयो।

सरकार ढल्छ भनि प्रचार गरेर समाजमा अस्थिरताको खेती गर्ने काम भइरहेको उहाँले बताउनुभयो। तर दुई प्रमुख नेता बिच समझदारी हुँदासम्म सरकार नढल्ने र अहिले उहाँहरू बिच राम्रो समझदारी रहेको पोखरेलले स्पष्ट पार्नुभयो ।

व्यवसायी, औद्योगिक र लगानीमैत्री वातावरण बनाउने कुरामा अहिलेको सरकार लागेको र त्यही अनुसार विभिन्न अध्यादेश ल्याइएको उहाँले बताउनुभयो । सरकार अब नरोकिने बताउँदै उहाँले सरकार ठोस योजनाका साथ अघि बढ्ने पोखरेलले स्पष्ट पार्नुभयो सरकारले वातावरण तयार गरेकोले व्यवसायीहरूलाई लगानी गर्न पोखरेलले आग्रह गर्नुभयो । ‘लगा निको वातावरण बनाउन सरकार तयार छ, पार्टी पनि प्रतिबद्ध छ’, उहाँले भन्नुभयो।

२०८४ सालको निर्वाचनसम्म दुई पार्टीबीच मिलेर अघि बढ्ने समझदारी भएकोले त्यसमा कुनै तलमाथि नहुने उहाँले स्पष्ट पार्नुभयो। त्यसैले देशमा अब राजनीतिक स्थिरता सुरु भइसकेकोले ढुक्क भएर लगानी गर्न पोखरेलले आग्रह गर्नुभयो। उहाँले अब संविधान माथिको खेलबाड सम्भव नभएको बताउँदै प्रतिक्रियावादीलाई यस माथि खेलबाड नगर्न चेतावनी दिनुभयो। प्रतिगमनकारीलाई जवाफ दिन संविधानको पक्षमा नेकपा एमालेले देशै भरी कार्यक्रम गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो।