काठमाडौं-आज प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता गर्दै हुनुहुन्छ।
तीन शीर्ष नेताबीच सिंहदरबारमा अपराह्न ४ बजे भेटवार्ता गर्न लागेको हो। संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकको मुख्य एजेण्डा संक्रमणकालीन न्याय भएको बताउनुभयो।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी छ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त हुनै बाँकी छ। त्यसका लागि सिफारिस समिति (सर्च कमिटी) समेत गठन हुन सकेको छैन। सिफारिस समितिमा सहमति जुटाउन तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको खरेलले बताउनुभयो।
यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सर्वसम्मतिमा सम्भावित पदाधिकारीको सूची तय गर्न नसकिएको भन्दै जिम्मेवारीबाट हात झिकेको थियो।
आजको बैठकमा राजावादीहरुले बढाएको गतिविधि र गणतन्त्रवादी दलहरुको भूमिकाका विषयमा पनि छलफल हुने बताइएको छ। यसअघि शीर्ष तीन नेताबीच चैत ६ गते नै बैठक गर्ने तयारी थियो। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको तराई–मधेस जागरण अभियानका लागि काठमाडौँ बाहिर गएपछि भेट हुन सकेन।
प्रतिक्रिया