काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १९ गते थाइल्यान्ड भ्रमणमा जानुहुने भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको टोली बैंकक जान लागेको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।
यही चैत १९ देखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा बिमस्टेक बैठक बस्दैछ। बैठकमा परराष्ट्रमन्त्री आरजु राणालगायतका मन्त्रीहरू पनि सहभागी हुनेछन्। बैठकका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूसँग द्विपक्षीय भेटवार्ता हुने पनि जनाइएको छ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो ।बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेका छन् ।
पाँचौँ शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा आयोजना भएको थियो भने सन् २०१८ मा नेपालले चौथो शिखर सम्मेलन आयोजना गरेको थियो । बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पका रूपमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रूपमा लिइन्छ । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल छैन।
प्रतिक्रिया