काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्ने र झुट फैलाउन सक्रिय रहेको बताउनु भएको छ।
ललितपुरको कुपन्डोलमा मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री सो कुरा बताउनु भएको हो।
प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भएपनि विरोधीहरु सपना साकार पार्न नदिन लागिपरेको दाबी गर्नुभयो। उहाँले तर सरकार आफ्ना विषय र काममा केन्द्रित भइरहेको बताउनुभयो।

‘केही मानिसहरू समृद्ध नेपाल खुसी नेपाली राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेका छन्, त्यो स्वाभाविक पनि हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विरोधीहरू लाग्छन्, यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो तर त्यस्तो भइरहेको छैन। कसरी सरकार वा आफू बाहेकलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न र झुटलाई फैलाउन सकिन्छ भन्ने कुरामा उहाँहरू बहुत नै सक्रिय देखिनुहुन्छ।’
विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो। ‘देश विकास लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा हाम्रो ध्यान रहेको छ, ’प्रधानमन्त्री ओलीले भन्नुभयोस।
प्रतिक्रिया