काठमाडौं-नेपालका लागि जापानी राजदूत माएदा तोरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द दाहालसँग शिष्टाचार भेट गर्नु भएको छ। मंगलबार मन्त्रालयमा उहाँहरु विच भएको भेटमा द्विपक्षिय विभिन्न विषयमा कुराकानी भएको छ।
त्यस क्रममा मन्त्री दाहालले राजदूत तोरुलाई कार्यभार सम्हाल्नु भएकोमा हार्दिक वधाई ज्ञापन गर्नुभयो। जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले नेपालसँग जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरुमा भौतिक पूर्वाधार विकास, मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, वातावरण संरक्षण, संस्कृति लगायत रहेको जनाउनुभयो।

‘भूकम्प लगायत प्राकृतिक विपत्तिहरुमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयहरुबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ। नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिई आएको छ’ भेटमा मन्त्री दाहालले भन्नुभयो, ‘हामी पूर्वाधार विकास, औद्योगिक विकास, कृषि, जलविद्युत लगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौं।’
नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ। जापानले सन् १९५४ देखि नेपालको सामाजिक-आर्थिक विकासमा योगदान दिँदै आएको छ।

यस अवसरमा दुवै मुलुकबाट विगतमा भएका उच्चस्तरका भ्रमणहरुको स्मरण गर्न गरिएको थियो। समय–समयमा हुने द्विपक्षीय भ्रमणहरु नेपाल र जापानबीच रहिआएको अति सौहार्दपूर्ण सम्बन्धमा कोसेढुङ्गाको रुपमा रहिरहने मन्त्री दाहालले विश्वास व्यक्त गर्नुभयो।
प्रतिक्रिया