काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठकले निर्णय गरेर सरकारले एकजना कर्मचारीलाई हटाउँदा केहीले सडक आन्दोलन गर्दै छाती पिटीपिटी रोएर उधुम मच्चाएको टिप्पणी गर्नुभएको छ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनालक्षित गर्दै सो टिप्पणी गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारले एक जना कर्मचारी हटाउँदा सडक आन्दोलन गर्दै छाती पिटीपिटी रोएर उधुम छ।’
प्रधानमन्त्री ओलीले सो विषयमा जवाफ दिइरहनु नपर्ने बताउनु भयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीले जवाफ दिइसकेको छ। एउटा कर्मचारीलाई सरकारले हटाइयो, अर्को नियुक्ति गरिसकेको छ। यसको त्यही हो जवाफ। उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन।’
प्रधानमन्त्री ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताउनुभयो।
देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा सङ्घले बाघले झम्टिए झैँ झम्टने प्रधानमन्त्री ओलीले बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।’
प्रतिक्रिया