काठमाडौं-बैदेशिक रोजगारबाट फर्केकाहरुको हकहितका पक्षमा क्रियाशील संस्था रिटर्नी फेडेरेसन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन चैत १५ र १६ गते काठमाडौंमा हुने भएको छ।
महाधिवेशनमा ६५ जिल्लाका ६०० जना प्रतिनिधिहरुको सहभागिता रहने अध्यक्ष उत्तम अधिकारीले जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ।

महाधिवेशन आयोजनापूर्व संगठनका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश कमिटी, ५८ वटा जिल्ला कमिटी र २०० वटा पालिका कमिटीको अधिवेशनहरु सम्पन्न भएको पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।
दुईवटा प्रदेश कमिटी र सात वटा जिल्ला कमिटीहरुमा सम्मेलन आयोजक कमिटी निर्माण भै ६५ जिल्लामा संगठन विस्तार भएको छ । विभिन्न ७ वटा मुलुकमा फेडेरेसनका प्रवास प्रतिनिधिहरु रहेका छन्। संगठनले संचालन गरेको सदस्यता विस्तार अभियान मार्फत ३५ हजार सदस्य थप भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
२०७७ साल पुस २७ गते नेकपा एमालेको जनसंगठन प्राप्तिका लागि संयोजन कमिटी गठन भई २०७८ साल पुस १६ गते घोषणा भएको फेडेरेसन औपचारिक रुपमा चौथो बर्षमा प्रवेश गरेको छ।
दोश्रो राष्ट्रिय महाधिवेशनबाट ९ पदाधिकारी सहित ९९ सदस्यीय केन्द्रीय कमिटी तथा ५ सदस्यीय लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग निर्वाचित गरिने छ।
प्रतिक्रिया