काठमाडौँ-प्रतिनिधिसभाको बैठक शुक्रबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अवरोध गरेपछि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको थियो। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै प्रतिनिधिसभा बैठकको समय परिवर्तन भएको जानकारी गराउनु भएको थियो।
दिउँसो २ बजे पनि बैठक बस्न नसकेपछि महासचिव पाण्डेयले सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।
विपक्षी दलहरूले भने मन्त्रिपरिषद् बैठकबाटै कुलमानलाई हटाउने निर्णय गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आफैं सदनमा आएर यसबारे स्पष्टीकरण दिनुपर्ने माग राख्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन अवरुद्ध गर्ने अडानसमेत राखेका छन्।

प्रतिक्रिया