काठमाडौं-नेकपा एमालले पूर्वराजाका समर्थकले आज गरेको प्रदर्शन उद्दण्ड, अराजक र हिंसात्मक भएको जनाएको छ।
नेकपा एकालेका महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गरी आजको प्रदर्शन हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने खालको प्रदर्शन भएको स्पष्ट पार्नुभएको छ।
आज पूर्वराजावादीहरुको अराजक समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा देखाएको उद्दण्डता, अराजकता र हिंसाको नेकपा एमाले घोर भर्त्सना गर्दछ, शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्’, विज्ञप्तिमा उल्लेख छ ।


नेकपा एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने पोखरेलले स्पष्ट पार्नुभएको छ। सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्च गमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन पनि एमालेले आह्वान गरेको छ। आजका आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न एमालले सरकारसँग माग गरेको छ।

प्रतिक्रिया