काठमाडौं-नेकपा (एकीकृत समाजवादी)ले यही चैत २५ गते देशभर प्रदर्शन गर्ने भएको छ।
काठमाडौं आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले २०८१ चैत १५ गते प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त प्रदर्शन गर्न लागेको हो।
बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यापी रूपमा भण्डाफोर गर्ने निर्णय गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो।
राजावादीहरूको प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानूनी कारबाही गर्न समेत माग गरिएको ज्वालाले जानकारी दिनुभयो ।
सञ्चार गृहमाथि आक्रमण गरेर प्रस स्वतन्त्रता कुण्ठित गर्ने दुष्प्रयास गरिएको भन्दै उक्त आक्रमणप्रति पार्टीले निन्दा व्यक्त गरेको पनि उहाँले बताउनु भयो।
‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को काठमाडौं आलोकनगरस्थित केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको निवास लगायतका स्थानमा भएको ढुंगामुडा, तोडफोड र आगजनी विरूद्ध यही चैत २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरूले सम्बन्धित तहमा देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ,’ उहाँले भन्नुभयो।
प्रतिक्रिया