काठमाडौँ-प्रेस चौतारी नेपालले राजावादी समूहले २०८१ चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ५ बुँदे ज्ञापन-पत्र बुझाएको हो।
समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्यु भएको, विभिन्न सञ्चार गृहको भवनमा आगो लगाइएको, सवारीसाधन तोडफोड र आगजनी गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने दोषीलाई तत्काल कारबाहीको माग गरिएको ज्ञापन पत्रमा भनिएको छ।
‘कथित राजावादी समूहको नाममा मिति २०८१ चैत १५ गते काठमाडौंमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार संकलनमा रहेका पत्रकारको ज्यान गुमेको र पत्रकार तथा सञ्चारमाध्यममाथि सुनियोजित रुपमा आक्रमण भएको घटनाले नेपाली श्रमजीवी पत्रकारहरुको सवैभन्दा ठूलो संगठन प्रेस चौतारी नेपाल स्तब्ध बनेको छ।
प्रदर्शनका क्रममा भएका आतंकपूर्ण र हिंसात्मक घटनाले सिंगो सञ्चार क्षेत्र त्रसित र मर्माहत भएकाले माननीय सञ्चारमन्त्रीज्यूमार्फत नेपाल सरकारसमक्ष प्रेस चौतारी नेपालका तर्फबाट निम्नानुसार ध्यानाकर्षणसहित कडा कदम चाल्न यो ज्ञापन–पत्र पेश गरेका छौं,’ ज्ञापन–पत्रमा भनिएको छ।
चैत १५ गते राजावादी प्रदर्शनकारीले हिंसात्मक ढंगले निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलामा बसेर समाचार संकलनका लागि भिडियो खिचिरहेको एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।
ज्ञापन–पत्र बुझ्दै सञ्चारमन्त्री गुरुङले घटनाको सत्यतथ्य बुझी दोषीलाई कारबाही गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ।
ज्ञापन–पत्रको पूर्णपाठ
माननीय पृथ्वीसुब्बा गुरुङज्यू,
मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सिंहदरबार, काठमाडौं।
विषयः ज्ञापन–पत्र सम्बन्धमा।
महोदय,
कथित राजावादी समूहको नाममा मिति २०८१ चैत १५ गते काठमाडौमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार संकलनमा रहेका पत्रकारको ज्यान गुमेको र पत्रकार तथा सञ्चारमाध्यममाथि सुनियोजित रुपमा आक्रमण भएको घटनाले नेपाली श्रमजीवी पत्रकारहरूको सवैभन्दा ठूलो संगठन प्रेस चौतारी नेपाल स्तब्ध बनेको छ।

प्रदर्शनका क्रममा भएका आतंकपूर्ण र हिंसात्मक घटनाले सिंगो सञ्चार क्षेत्र त्रसित र मर्माहत भएकाले माननीय सञ्चारमन्त्रीज्यूमार्फत नेपाल सरकारसमक्ष प्रेस चौतारी नेपालका तर्फबाट निम्नानुसार ध्यानाकर्षणसहित कडा कदम चाल्न यो ज्ञापन पत्र पेश गरेका छौं।
१. काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले हिंसात्मक ढंगले निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलामा बसेर समाचार छायांकन गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै जलेर मृत्यु भएको छ।
आन्दोलनकारीले लुटपाट गरेको भिडियो सार्वजनिक हुने डरले रजकलाई आगो लागेको भवनमै थुनेर बाहिर निस्केको विवरणहरू आइरहेका छन । घटनापछि प्राप्त दृष्यहरूले उहाँको सुनियोजित रुपमै हत्या गरेको गम्भीर आशंका उब्जाएको छ। कार्यस्थलमै एक जना पत्रकारले जिउदै जलाएर ज्यान लिने र पत्रकारले मृत्युवरण गर्नुपर्ने कहालीलाग्दो र आततीय घटनाको छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न हामी सरकारसँग माग गर्दछौं । साथै, मृतक रजकका परिवारलाई न्याय, राहत तथा परिपूरणको व्यवस्था गर्न आग्रह गर्दछौ ।

२. राज्यबाट इजाजत लिएर सञ्चालन भइरहेको एभिन्यूज टेलिभिजनलगायतका सञ्चारमाध्यमका सञ्चालक र केही सञ्चारकर्मीले चैत १५ गतेको हिंसात्मक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रतिगमनलाई मलजल गर्ने गरी संविधानविपरीत समाचार सामाग्री प्रकाशन / प्रशारण तथा संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा मिडिया परिचालन गरिरहेको अवस्था छ।
मृतक रजकको हत्याको घटनामा सम्बन्धित टेलिभिजनका सञ्चालकलाई पनि जवाफदेही बनाउन तथा मृतक रजकले पाउन बाँकी तलब तथा श्रमजीवी पत्रकार ऐनअनुसार पाउनुपर्ने सम्पूर्ण सेवा / सुविधा उपलब्ध गराउन टेलिभिजन व्यवस्थापनलाई कानुन अनुसार बाध्यकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।
३. प्रेस चौतारी नेपालको टोलीले चैत १६ गते अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय, कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन र अनलाइन खबर डटकममा स्थलगत अनुगमन तथा घटना विवरणबारे जानकारी लिएको छ । अनुगमनका क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय तथा कान्तिपुर टेलिभिजनको भवनमा क्षति पुगेको पाइएको छ भने हिमालय टेलिभिजनको गाडी तोडफोड हुनुका साथै समाचार संकलनमा रहेका पत्रकारहरू घाइते भएको अवस्था छ । यसैगरी, अनलाइन खबर डटकमका फोटो पत्रकार दिनेश गौतम प्रदर्शनकारीको आक्रमणबाट खुट्टा भाँचिएको छ । हामी तोडफोड र आक्रमणबाट क्षति भएका सञ्चारमाध्यमहरूलाई क्षतिपूर्ति दिलाउन तथा घाइते पत्रकारको उपचारको उचित व्यवस्था गर्न माग गर्दछौं ।
४. शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिक अधिकार भएपनि आन्दोलनको बहानामा भएका यस्ता अराजक एवं आपत्तिजनक गतिविधिको शिकार पत्रकार र सञ्चारमाध्यम हुनु गम्भीर चिन्ताको विषय हो । काठमाडौंमा चैत १५ सम्पन्न प्रेस चौतारी नेपालको केन्द्रीय समितिको प्रथम बैठकले यस्ता अराजकतापूर्ण घटनाको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ । सो घटनामा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्न पनि बैठकले सरकारसँग माग गरेको माननीय मन्त्रीज्यूलाई जानकारी गराउन चाहन्छौं । जनताको बलिदानी, कष्टसाध्य संघर्ष र त्यागबाट प्राप्त नेपालको लोकतान्त्रिक गणतन्त्रमाथि धाबा बोल्दै भइरहेका यस्ता अराजक गतिविधिलाई तत्काल निष्तेज गर्न प्रेस चौतारी नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ । साथै, यो काममा सरकारलाई सिंगो नेपाली सञ्चार क्षेत्रको साथ रहेको अवगत गराउन चाहन्छौं ।
५. संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको सम्मान गर्दै पत्रकारहरूको सुरक्षाको प्रत्याभूति दिलाउन तथा निर्वाध रुपमा समाचार संकलन, सम्प्रेषण र प्रकाशन / प्रशारणमा अवरोध सिर्जना नहुने गरी पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन पनि हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।
गणेश पाण्डे
अध्यक्ष


प्रतिक्रिया