अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आजबाट काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै शिक्षकहरू

आजबाट काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै शिक्षकहरू


काठमाडौँ-नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर देशभरका शिक्षकहरूले बुधवारदेखि पुनः काठमाडौँमा आन्दोलन गर्न लागेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताउनुभयो । अध्यक्ष सुवेदीले पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रम सकेर शिक्षकहरु आजदेखि राजधानी केन्द्रीत आन्दोलनमा सहभागी हुने बताउनु भयो । उहाँले आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने बताउनु भयो।

आन्दोलनको पहिलो दिन आज माइतीघरमा दिउँसो १ बजे भेला भएर नयाँ बानेश्वर सम्म विरोध प्रदर्शन कार्यक्रम गर्ने अध्यक्ष सुवेदीले जानकारी जानकारी दिनुभयो।

बिहीबारदेखि भने हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आन्दोलनका कार्यक्रम हुनेछ। शिक्षकलाई महासंघ विद्यालय पोशाक र परिचयपत्रसहित सहभागी हुन भनेको छ। 

स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायीरकरार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चली रहने महासंघले जनाएको छन्। 

आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने महासंघले जनाएको छ। आन्दोलन दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ। अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ।