काठमाडौं-काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन शाहलाई चेतावनी दिनुभएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि पत्र पठाएको थियो। बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुग्नुभएको थियो। सोही क्रममा नगर प्रहरीले अधिकृत सरोज गुरागाईंलाई रोक्न खोजेको थियो। नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए।
मेयर बालेन्द्र शाह ‘बालेन’ले गुरागाईंलाई अवरोध गर्न नगर प्रहरी परिचालन गरेका थिए। तर, कर्मचारीको सहयोगमा गुरागाईंलाई नगर प्रहरीको अवरोध छिचोल्दै कार्यालय प्रवेश गर्नुभएको थियो।
कार्यालय प्रवेश गरेपछि पनि उहाँ कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर बालेन शाहले कार्यकक्षमै चाबी लगाएर सम्पर्कविहीन भएको कर्मचारीहरूले बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले नै कार्यकक्षमा प्रवेश गर्न रोक लागाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनीता डंगोल, वडाध्यक्षहरू सबै बैठक बसेका थिए।
बैठकमा उपमेयर डंगोलले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै कोठामा बसेर निर्देशन नदिन चेतावनी दिनुभयो।
‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन। कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन।’
महानगरवासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्ने उहाँको धारणा थियो। ‘यो तमासा हामीले हेर्नुपर्ने? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ। होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन। पहिला आजको विषय समाधान गर्छौं। त्यसपछि बोर्ड बैठक बस्छौँ। आजका लागि यो समस्या समाधान गर्नुपर्छ।’





प्रतिक्रिया