काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिइ शनिबार स्वदेश फर्कनुभएको छ।
प्रधानमन्त्री ओली शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गर्नुभयो ।
प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत र नेपालका लागि थाइल्याण्डका कार्यवाहक राजदुत स्वागतका लागि विमानस्थल पुग्नुभएको छ । त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो ।

थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले छिमेकी भारतका प्रधानन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसीहित र चासोका विविधि विषयमा छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली यही चैत २२ गते बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन समेत गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री ओेली चैत २१ गते बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक हुनुभएको थियो । शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवम् राष्ट्रप्रमुखहरूसँग भेटवार्ता समेत गर्नुभएको थियो ।




प्रतिक्रिया