काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले अधिवेशनको बेलामा तँछाडमछाड गर्ने तर अधिवेशन सकिएपछि बैठकमा नै उपस्थिति नहुने प्रवृत्ति पार्टीमा मौलाएको बताउनुभएको छ।
नेकपा एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीद्वारा आइतबार काठमाडौंमा आयोजित रामनवमी तथा चैते दशैँ २०८१ को शुभकामना सहित पार्टीको जरा अभियान अन्तर्गत पार्टीको संगठन निर्माण तथा विस्तार विषयक प्रदेश कमिटी, जिल्ला सम्पर्क मञ्च, क्षेत्रीय सम्पर्क मञ्च र पालिका नेतृत्वको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टी र नेताहरू खोजेको बेला भेटिनु पर्ने बताउनुभयो। ‘भौतिक रूपमा उपस्थित भएर गरिने कामले आत्मीयता बढाउँछ’, महासचिव पोखरेलले भन्नुभयो।
जनतासँग जति जोडिने कुरालाई महत्त्व दिनुपर्ने महासचिव पोखरेलको धारणा छ। यसले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण को योजनामा योगदान गर्ने महासचिव पोखरेलले बताउनुभयो।

आजको सन्दर्भमा सामाजिक सञ्जालको प्रयोग पनि त्यतिकै आवश्यक रहेको उहाँले बताउनुभयो। आफूले गरेको कामलाई सामाजिक सञ्जाल मार्फत प्रस्तुत गर्न आवश्यक रहेको महासचिव पोखरेलको धारणा छ। ‘आजभोलि वैचारिक र सांगठकि कामलाई कोठाभित्र प्रशिक्षण गरेर मात्र हुँदैन, सामाजिक सञ्जाल मार्फत पनि प्रस्तुत गर्नुपर्दछ’, महासचिव पोखरेलले भन्नुभयो।
नियमित सम्पर्क र संवाद नगर्दा मानीहरू बरालिने भएको बताउँदै महासचिव पोखरेलले पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकसँग पनि नियमित सम्पर्क र संवादमा रहन आग्रह गर्नुभयो। सामाजिक सञ्जालको प्रयोग मार्फत पनि नियमित सम्पर्क र संवादमा रहन सकिने उहाँको धारणा छ।
युवाका बिचमा पार्टीलाई स्थापित गर्न आवश्यक रहेको बताउँदै महासचिव पोखरेलले पार्टीले यस वर्षको स्थापना दिवस युवाको बिचमा पार्टी भन्ने मूल नाराका साथ नै मनाउन लागेको जानकारी दिनुभयो। राजनीतिक रूपमा जोडिएका, नजोडिएका युवालाई सो अभियानमा जोड्नु पर्ने उहाँको भनाइ छ।
अहिलेको कतिपय मानीहरूले लोकतन्त्रमा गएपछि मलुक कमजोर भयो भनि गरेको टिप्पणी मनोगत भएको उहाँको धारणा छ तथ्यलाई हेरे विश्लेषण गर्ने हो भने राजसंस्थाको बेलामा र त्यस पछिको अवस्था छर्लङ्ग हुने पोखरेलले स्पष्ट पार्नुभयो। त्यसैले हल्लाको पछाडि होइन तथ्यमा टेकेर कुरा गर्नुपर्ने भन्दै उहाँले राजाको पालामा भएको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार लगायतको तुलना सहितको उदाहरण सुनाउनुभयो।

गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केही मानिसहरूले समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरिहरेका उहाँले बताउनुभयो। अहिले कथित राजावादीहरू जुरमुराएका बताउँदै उहाँले त्यसको पटाक्ष चैत १५ गतेको सभामा देखिएको बताउनुभयो।
सारा जनता जुरमुराएर आउने छन् र अन्तर्राष्ट्रिय विमानस्थल तथा संसद् भवन कब्जा गर्न सकिन्छ भनेर राजवादीले चैत १५ को आन्दोलन गरेका महासचिव पोखरेलले बताउनुभयो। सोचे जस्तो मानिस नआएपछि राजावादीहरूले हिंसा र उदण्डता देखाएका उहाँको धारणा छ। ‘राजतन्त्रको अमानवीयताको अनुहार देख्न नपाएको नयाँ पुस्ताले तीनकुनेको घटनाबाट राजतन्त्रको उदण्डताको दृश्य देख्ने मौका पायो’, महासचिव पोखरेलले भन्नुभयो।
राजतन्त्रवादीहरू जतिसुकै सगबगाए पनि गणतान्त्रिक व्यवस्थालाई हल्लाउन नसक्ने उहाँले बताउनुभयो। एमालेले काठमाडौंमा गरेको मोटरसाइकल प्रदर्शनबाट राजावादीहरू हच्किसकेका उहाँको दाबी छ।
पूर्वराजा र उनका मतियारको व्यवहारले पुनः एक पटक गणतन्त्रवादीलाई एकठाउँमा आउने वातावरण बनाएको उहाँले बताउनुभयो । कहिलेकाहीँ नकारात्मक कुराले पनि सकारात्मक परिणाम दिने उहाँले स्पष्ट पार्नुभयो।
देशको अबको आवश्यकता राजनीतिक ध्रुवीकरण भएको बताउँदै उहाँले यसबाट बलिया राजनीतिक दल बन्ने बताउनुभयो। वैचारिक राजनीतिक ध्रुवीकरणले मात्र राजनीतिक स्थायित्व र स्थिरता सम्भव रहेको उहाँले स्पष्ट पार्नुभयो। नेकपा एमालेको एकल बहुमत स्थापित गरी मुलुकलाई राजनीतिक स्थायित्व दिने गरी नेकपा एमालेले काम गरिरहेको पोखरेलले बताउनुभयो।
प्रतिक्रिया